भारतको बाटो हुँदै खाडी मुलुक जाँदै गरेका ४७ नेपाली महिला दिल्लीबाट फिर्ता


भारतको बाटो हुँदै खाडी मुलुक जाँदै गरेका ४७ नेपाली महिला दिल्लीबाट फिर्ता
  • नवकिरण
  • श्रावण ११, २०८२

काठमाडौं, साउन ११ – भारतको बाटो हुँदै कुवेत जान लागेका ४७ जना नेपाली महिलालाई भारतीय सुरक्षाकर्मीको सहयोगमा नयाँ दिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट फिर्ता पठाइएको छ। उनीहरूलाई शुक्रबार काठमाडौं ल्याइएको हो र हाल माइती नेपालको संरक्षणमा राखिएको प्रहरीले जनाएको छ।

मानव बेचबिखन अनुसन्धान ब्युरोका एसपी रूगम बहादुर कुँवरका अनुसार ती महिलाको यात्रा प्रक्रिया अवैध रहेको देखिएको छ। “उनीहरूको एनओसी समेत नक्कली देखिएको छ। कसले र कसरी उनीहरूलाई दिल्लीसम्म पुर्‍यायो भन्नेबारे अनुसन्धान भइरहेको छ,” उनले बताए।

त्रिभुवन विमानस्थलमा कडाइ, भारतको बाटो प्रयोग गर्नेको संख्यामा वृद्धि

नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमनले कडाइ गरेसँगै अब भारतको बाटो हुँदै खाडी मुलुक जान चाहनेको संख्या बढेको बताइएको छ। यसअघि सजिलै सेटिङ मिलाएर काठमाडौंबाटै जान सकिने अवस्था रहे पनि अहिले त्यो सम्भव नभएपछि भारत, विशेष गरी दिल्ली र कोलकाताको बाटो प्रयोग भइरहेको श्रम क्षेत्रमा क्रियाशील एक स्रोतले जानकारी दिएको छ।

उक्त घटनालाई लिएर प्रहरीको अनुसन्धान तीव्र रुपमा अघि बढाइएको छ। “भारतबाट यति धेरै संख्यामा महिलाहरू एकैपटक फर्काइएकाे यो पहिलोपटक हो,” एसपी कुँवरले भने, “यसले भारतको बाटो प्रयोगको जोखिम बढिरहेको पुष्टि गर्छ।”

भिजिट भिसाको दुरुपयोग गर्दै विदेशमा काम गर्न जाने प्रवृत्ति बढेपछि अध्यागमन कार्यालयले निगरानी कडा बनाएको छ। अब दैनिक ३० देखि ४० जना यात्रुहरू मापदण्ड नपुगेको कारणले त्रिभुवन विमानस्थलमै रोकिने गरेको अध्यागमनका सूचना अधिकारी टीकाराम ढकालले बताए।

‘कसैको होटेल बुकिङ छैन, दोहोरो टिकट छैन, आफन्त कहाँ छन् भन्ने पनि थाहा छैन भने फर्काउनु पर्छ,’ ढकालले भने।

हाल विदेश जान चाहनेले कम्तीमा ६ महिनाको वैध राहदानी, दुईतर्फी टिकट, ५ सय डलर बराबरको नगद, होटेल बुकिङ वा आफन्तसँग बस्ने प्रमाण पेश गर्नुपर्ने व्यवस्था छ। खाडी मुलुकतिर जानेहरूका लागि थप रूपमा स्वघोषणा अनिवार्य गरिएको छ।

श्रम क्षेत्रमा संलग्न एक व्यक्तिले भने सरकारले स्पष्ट नीति नबनाएको भन्दै आलोचना गरे। “राम्रो लुगा लगाएका जान पाउँछन्, चप्पल लगाएका रोकिन्छन् भने त्यो विभेद हो,” उनले भने, “सबैका लागि एउटै मापदण्ड लागु गर्नुपर्छ।”

उनले भिजिट भिसामा जान आवश्यक रकमको सीमा ५ सय डलरबाट बढाएर १ हजार डलर बनाउन सुझाव दिए। “रोक्ने भन्दा पनि सुरक्षित बनाउनतिर ध्यान दिनु पर्छ,” उनले भने।

सरकारले घरेलु काममा प्रतिबन्ध लगाएसँगै महिलाहरू वैकल्पिक बाटो रोजेर खाडी मुलुक पुग्ने प्रयास गरिरहेका छन्। तर, अवैध प्रक्रियाले उनीहरूलाई थप जोखिममा पारिरहेको देखिन्छ। यस घटनाले मानव तस्करीको खतरा अझै हटेको छैन भन्ने स्पष्ट पार्छ। सरकारले थप निगरानी र स्पष्ट मापदण्ड निर्माण नगर्दासम्म यस्तो समस्या दोहोरिरहने देखिन्छ।