छतमा सेकुवा पोल्दा छिमेकीले दमकल बोलाए, आगो लागेको नभई रमाइलो गरिरहेका रहेछन्


छतमा सेकुवा पोल्दा छिमेकीले दमकल बोलाए, आगो लागेको नभई रमाइलो गरिरहेका रहेछन्
  • नवकिरण
  • जेष्ठ १८, २०८२

काठमाडौं, जेठ १८ – ललितपुरको इमाडोलमा एक अनौठो घटनाले सामाजिक सञ्जालमा चर्चा पाएको छ। शुक्रबार बेलुकी एक घरको छतबाट धुवाँ उठेको देखेपछि छिमेकीहरूले आगलागी भएको शङ्का गर्दै दमकल बोलाए। तर, वास्तविकता भने त्यो भन्दा फरक थियो।

सामाजिक सञ्जालमा भाइरल भएको भिडिओमा छतमा आगो देखिएपछि मानिसहरूबीच यस्ता खालका संवाद सुनिन्छ — “धेरै जाडो त छैन, किन आगो बालेको होला?”, “पेट्रोल खर्च गराएर दमकल बोलाउने काम भयो!”, “सेकुवा पोल्दैमा यति ठूलो हल्ला?”

घटनाबारे बुझ्दा ललितपुर नगरप्रहरी प्रमुख सीताराम हाछेथुले घटनाको पुष्टि गरे। उनका अनुसार, साँझ साढे सात बजेतिर महालक्ष्मी नगरपालिका र ललितपुर महानगरको सिमाना नजिकैको घरबाट धुवाँ देखिएको खबर आएपछि दमकल त्यसतर्फ पठाइएको थियो।

“हामी पुग्दा छतमा आगो बलेको देख्यौं तर आगलागीजस्तो आपतकालीन अवस्था थिएन,” उनले बताए, “त्यसपछि बुझ्दा थाहा भयो — ती व्यक्तिहरू छतमा सेकुवा पोल्दै रमाइलो गरिरहेका रहेछन्।”

उनले थपे, “काठमाडौं उपत्यकामा यति जाडो छैन कि आगो ताप्नुपर्ने अवस्था होस्। सम्भवतः सेकुवा पोल्ने क्रममा आगोको धुवाँ देखेर छिमेकीले हतारमा दमकल बोलाए।”

नगरप्रहरी प्रमुख हाछेथुले यस्ता गतिविधिमा सचेत रहनुपर्नेमा पनि जोड दिए। “छतमा खुल्ला स्थानमा आगो बाल्दा सावधानी अपनाउनुपर्ने हुन्छ। आगो उम्किएर साँच्चिकै दुर्घटना हुनसक्छ,” उनले भने।

दमकल घटनास्थलमा पुगेपनि आगो निभाउन पानी प्रयोग गर्न नपरेको र अवस्था सामान्य देखिएपछि फर्किएको जानकारी पनि उनले दिए।