काठमाडौँ, वैशाख २८ – रास्वपाका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदन सर्वोच्च अदालतको न्यायाधीशद्वय सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको संयुक्त इजलासमा परेको छ।
लामिछानेलाई गैरकानुनी थुनामा राखिएको भन्दै उनकी श्रीमती निकिता पौडेलले वैशाख ७ गते निवेदन दिएकी थिइन्।
सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालतले उनलाई एक करोड धरौटीमा रिहा गरे पनि उच्च अदालत तुलसीपुरले निर्णय उल्ट्याउँदै पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।
पक्राउ परेपछि लामिछाने काठमाडौँ र रुपन्देहीको हिरासतमा तीन दिन थुनामा राखिएका थिए। अब सर्वोच्चको इजलासले के फैसला गर्छ भन्नेमा चासो बढेको छ।