काठमाडौं, जेठ १ – रास्वपा सभापति रवि लामिछानेविरुद्ध मात्रै सम्पत्ति शुद्धीकरणको मुद्दा चलाइएको भन्दै रास्वपा नेतृ ज्वाला सङ्ग्रौलाले अन्य राजनीतिक व्यक्तिहरूको संलग्नता भए पनि उनीहरूमाथि कारबाही नहुँदा प्रश्न उठाएकी छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत सङ्ग्रौलाले नेपाली राजनीतिमा दोहोरो मापदण्ड अपनाइएको आरोप लगाउँदै लेखेकी छन्, “रवि लामिछानेबाहेक कुनै पनि राजनीतिक व्यक्तिमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा चलाइएको छैन।”
उनका अनुसार नेपाली कांग्रेसकी सांसद माया राई, एमाले नेता तथा सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला, र बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली सहकारीका सञ्चालकको रूपमा प्रत्यक्ष संलग्न रहे पनि उनीहरूलाई मुद्दा चलाइएको छैन।
“अञ्जला कोइराला र देवकुमार नेपालीमाथि त सम्पत्ति शुद्धीकरण मात्रै होइन, संगठित अपराधको मुद्दा पनि चलाइनुपर्ने हो, तर त्यस्तो केही भएको छैन,” सङ्ग्रौलाको भनाइ छ।
त्यस्तै, सिन्धुलीको फिक्कल गाउँपालिका उपाध्यक्ष राजु बराल पनि एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन्, तर उनीविरुद्ध पनि कुनै मुद्दा दायर गरिएको छैन।