काठमाडौ, जेठ १ – प्रतिनिधिसभाका तीन जना सांसद हाल निलम्बनमा छन् भने एक सांसद फरार रहेकी छिन्। यिनीहरू सबैविरुद्ध आपराधिक वा आर्थिक अनियमिततासम्बन्धी मुद्दा दर्ता भइसकेको छ।
सबैभन्दा पछिल्लो रूपमा नेपाली कांग्रेसका सांसद मोहन बहादुर बस्नेतको नाम निलम्बित सांसदको सूचीमा थपिएको छ। सिन्धुपाल्चोक–२ बाट निर्वाचित बस्नेतमाथि टेरामक्स प्रकरणमा संलग्न रहेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेपछि उनको सांसद पद स्वतः निलम्बनमा परेको हो।
यसअघि, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा चितवन–२ का सांसद रवि लामिछाने ८ पुस २०८१ देखि निलम्बनमा छन्। उनीमाथि सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्दा दर्ता भइसकेको छ।
त्यस्तै, नेकपा एमालेका सांसद टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि निलम्बित छन्।
यता, राप्रपाकी सांसद गीता बस्नेत भने फरार छन्। नवलपरासीको छिपछिपे उपभोक्ता सहकारी, चितवनको सनराइज सहकारी र बर्दियाको नमस्ते सहकारीमार्फत १६ करोड ५८ लाख रुपैयाँ हिनामिनामा संलग्न भएको अभियोगमा उनीमाथि १४ वैशाख २०८१ मा पक्राउ पुर्जी जारी भएको थियो। त्यसयता उनी सम्पर्कविहीन छिन्।
प्रहरी अनुसन्धानका अनुसार बस्नेत सञ्चालक रहेको बर्दियास्थित कृष्णसार रिसोर्टमा विभिन्न सहकारीहरूबाट करिब ९ करोड रुपैयाँ लगानी गरिएको प्रमाण फेला परेको छ। फरार रहेकी बस्नेतले यो एक वर्षको अवधिमा १० लाखभन्दा बढी तलब र भत्ता बुझिसकेको पाइएको छ।