गृहमन्त्रीको गतिविधिले शङ्का पैदा भएको माओवादी केन्द्रको आरोप


गृहमन्त्रीको गतिविधिले शङ्का पैदा भएको माओवादी केन्द्रको आरोप
  • नवकिरण
  • जेष्ठ २१, २०८२

काठमाडौँ, जेठ २१ – भिजिट भिसा प्रकरणले राष्ट्रिय राजनीति तातिरहेका बेला नेकपा (माओवादी केन्द्र) ले गृहमन्त्री रमेश लेखकमाथि गम्भीर प्रश्न उठाएको छ।

पार्टीका प्रमुख सचेतक हितराज पाण्डेले गृहमन्त्रीको गतिविधिले गम्भीर शङ्का पैदा गरेको भन्दै तत्काल छानबिन समिति गठनको माग गरेका छन्।

राज्य व्यवस्था तथा सुशासन समितिको बुधवार बसेको बैठकमा बोल्दै पाण्डेले भिजिट भिसा प्रकरणबारे गहिरो अनुसन्धान आवश्यक रहेको बताए।

प्रमुख प्रतिपक्ष दलसहित विपक्षी दलहरूले गृहमन्त्री लेखकको राजीनामा माग गर्दै संसद् अवरुद्ध गरिरहेका छन्। त्यहीबेला गृहमन्त्रीले एकैदिन अख्तियारमा कार्यरत प्रहरी अधिकारीको सरुवा गरेर तत्काल फिर्ता गर्नु थप शङ्कास्पद रहेको पाण्डेको भनाइ छ।

“नागरिकहरू सुशासनको अपेक्षा गरिरहेका बेला सरकारले झन् कुसंस्कृति बढाउने काम गरिरहेको छ,” उनले भने। साथै, पाण्डेले सरकारले संसद्मा दर्ता भएका विधेयकहरू टुङ्गो लगाउनेतर्फ समेत गम्भीर नभएको आरोप लगाए।

प्रकरणले राजनीतिक तहमा तरंग ल्याइरहेका बेला संसद् र सत्तापक्ष–विपक्षबीचको रस्साकस्सी थप चर्किएको देखिन्छ।