धनुषा, जेठ २७ – धनुषाको औरही गाउँपालिकामा १५ शैयाको अस्पताल निर्माणको ठेक्कापट्टामा भएको भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका सांसद दिपेन्द्र कुमार ठाकुरसहित १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
धनुषा क्षेत्र नं. ३(ख)बाट निर्वाचित नेकपा (एमाले)का सांसद ठाकुर ठेकेदारको रूपमा उक्त निर्माण प्रक्रियामा सहभागी थिए। अख्तियारको अनुसार, अस्पताल निर्माणको अनुमानित लागत २४ करोड ४३ लाख रुपैयाँ थियो। तर, १२ करोड ३५ लाख रुपैयाँमा निर्माण गर्न सक्ने ‘प्रतिष्ठा, धुलिखेल, एक्सिस एसिउन जेभी’ लाई ठेक्का दिनुपर्नेमा, १९ करोड १४ लाख रुपैयाँको प्रस्ताव पेश गर्ने ‘लुम्बिनी, डीएण्डएन जेभी’ लाई छनोट गरिएको हो।
अख्तियारले यो प्रक्रियामा नियोजित भ्रष्टाचार भएको ठहर गर्दै सांसद ठाकुरसहित गाउँपालिकाका तत्कालीन अध्यक्ष ब्रम्हदेव यादव, उपाध्यक्ष मीरादेवी सहनी, प्रमुख प्रशासकीय अधिकृत सुवोधकुमार ठाकुर, वडाध्यक्षहरू आशेश्वर यादव, अमित कुमार यादव, गंगाप्रसाद यादव, शिवनाथ साह, प्रमेश्वर मण्डल, दिलिप कुमार साह तथा इञ्जिनियरहरू सोनु साह, सन्तोष कुमार मण्डल, बिनित कुमार साह र खरिदार मोहन कुमार मण्डल, मनोज कुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो।
अख्तियारले उनीहरू सबैमाथि कुल ६ करोड ७९ लाख रुपैयाँ बिगो मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको जानकारी दिएको छ।