पोखरा, जेठ २९ – मोरङबाट प्रेमीलाई पोखरा बोलाएर एक सुनचाँदी व्यवसायीलाई हनी ट्रयापमा पार्दै ५० लाख रुपैयाँ बार्गेनिङ गरेको अभियोगमा तीन जना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–१५ टुटुङ्गामा बस्ने २७ वर्षीया मरियम राई, मोरङको विराटनगर चोकका ३८ वर्षीय देव लिम्बु र संखुवासभाको सभापोखरी गाउँपालिका–२ का ४० वर्षीय टेकबहादुर सुवेदी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। कास्की प्रहरीले उनीहरूविरुद्ध कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर आपराधिक लाभको कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ।
डीएसपी हरि बस्नेतका अनुसार मरियम पोखराकै एक सुनचाँदी पसलमा कार्यरत थिइन्। उनले आफैं काम गर्ने पसलका सञ्चालकलाई हनी ट्रयापमा फसाएर रकम असुल्ने योजनाअनुसार मोरङका प्रेमी देव लिम्बु र अर्का सहयोगी टेकबहादुर सुवेदीलाई पोखरा बोलाएकी थिइन्।
दुवै युवक पोखरा पुगेपछि उनीहरूले पसल सञ्चालककी श्रीमतीलाई धम्क्याउँदै रकम मागेका थिए। ‘तपाईंका श्रीमान्ले बलात्कार गरे’ भन्दै मुद्दा मामिला गरेर सडाउने धम्की दिँदै उनीहरूले जीन्दगीभर पुग्ने सम्पत्ति माग गरेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।
यस प्रकरणमा प्रयोग भएको अडियो प्रमाणसमेत प्रहरीले फेला पारेको जनाएको छ। सूचना पाएको आधारमा कास्की प्रहरीले तीनै जनालाई पक्राउ गरी थप अनुसन्धान अगाडि बढाएको हो।