स्याङ्जा, असार ४ – स्याङ्जाको वालिङ नगरपालिका–१० का वडाध्यक्ष सुनिल खनाल रास्वपाका नेतामाथि रड प्रहार गरेर फरार भएका छन्। मंगलबार साँझ वालिङ–९ सुर्कौंदीमा उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य मेघ आले र नेता दिनकर नेपालमाथि आक्रमण गरेका हुन्।
रास्वपा नेताहरू आँधीखोलामा भइरहेको अवैध उत्खनन रोक्न सक्रिय थिए। उनीहरूले मंगलबार मात्रै संघर्ष समिति गठन गरेर उत्खननविरुद्धको अभियान घोषणा गरेका थिए। सोही अभियानपछि फर्किँदै गर्दा उनीहरू आक्रमणमा परेका हुन्।
नेता दिनकर नेपालका अनुसार वडाध्यक्ष खनालले यसअघि पनि उनीहरूलाई धम्की दिँदै आएका थिए। मंगलबार भने बाटो छेकेरै रड प्रहार गरिएको हो।
“आँधीखोला दोहनविरुद्ध बोल्दै गर्दा धम्की दिएर गएका थिए। पछि बाटो छेकेर हामीलाई रड हाने। मैले हातले छेक्दा हातमा लाग्यो, हेल्मेट लगाएको भएर जोगिएँ,” उनले भने।
घटनापछि पीडित पक्षले प्रहरीमा जाहेरी दर्ता गराएका छन्। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी डीएसपी प्रशन्नराज चौधरीका अनुसार वडाध्यक्ष खनाल हालसम्म सम्पर्कविहीन छन्।
“उहाँ सम्पर्कमा हुनुहुन्न। खोजीका लागि स्थानीय प्रहरी हिजैदेखि परिचालन भएको छ। जिल्लाबाट पनि थप प्रहरी टोली परिचालन गरिएको छ,” उनले जानकारी दिए।
प्रहरीका अनुसार मंगलबार राति नै नयाँ बजारस्थित खनालको घरमा टोली पुगेको थियो। तर उनी त्यहाँ भेटिएनन्। उनका आफन्तसँग पनि सम्पर्क गरिएको बताइएको छ। व्यक्तिगत सम्पर्क नम्बर अफ रहेको र अफिसियल नम्बरमा भने बुधबार बिहानसम्म फोन लागिरहेको प्रहरीले जनाएको छ।
उक्त घटनाबारे छलफल गर्न नगरपालिकामा बुधबार बिहानदेखि बैठक चलिरहेको नगर प्रवक्ता पदमराज गुरूङले बताए।
“घटना बारे विस्तृत बुझ्न छलफल भइरहेको छ। रड प्रहार भएको भन्ने जानकारीपछि नगरले चासो देखाएको छ,” उनले भने।
यसैबीच संघर्ष समितिले तीन बुँदे माग राखेको छ। उनीहरूले जिल्लाभरि नदीजन्य पदार्थको प्रयोगमा एकरूपता ल्याउन संरक्षणविद्, विज्ञ तथा पालिकाका प्रतिनिधिसमेत रहने समिति गठन गर्न माग गरेका छन्। दुई महिनाभित्र नीतिगत स्पष्टता ल्याउनुपर्ने उनीहरूको माग छ।
त्यस्तै, उत्खननसम्बन्धी सबै प्रक्रिया र दस्तावेज सार्वजनिक गर्न, स्थानीयसँग परामर्श गरेर समाधान निकाल्नुपर्ने मागसमेत राखिएको छ। साथै, वालिङ क्षेत्रभित्र उत्खननबाट सिर्जित जोखिमबाट जोगिन कृषियोग्य जमिनको संरक्षण गर्न तत्काल तटबन्ध निर्माण गर्नसमेत माग गरिएको छ।
प्रहरीले भने वडाध्यक्षमाथि आवश्यक अनुसन्धान र कानुनी कारबाही हुने स्पष्ट पारेको छ।