हत्कडीसहित अदालतबाट फरार भएका थुनुवा बालाजुबाट पक्राउ


हत्कडीसहित अदालतबाट फरार भएका थुनुवा बालाजुबाट पक्राउ
  • नवकिरण
  • अषाढ १५, २०८२

काठमाडौं, असार १५ – काठमाडौं जिल्ला अदालतबाट हत्कडीसहित फरार भएका थुनुवा बालाजु बसपार्क क्षेत्रबाट पक्राउ परेका छन्।

पक्राउ पर्ने व्यक्ति पश्चिम रूकुमको बाँफिकोट गाउँपालिका–१ स्थायी घर भई हाल काठमाडौंको गोंगबुमा बसोबास गर्ने २१ वर्षीय निराजनजंग ठकुरी उर्फ दशरथ शाही हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराका अनुसार ठकुरी आइतबार चोरी मुद्दामा थुनामा रहेका थिए र उनीलाई अदालतमा उपस्थित गराइएको थियो। अदालतको ४ नम्बर इजलासमा थुनछेक बहसका क्रममा उनले ट्वाइलेट जाने बहाना बनाएर हत्कडीसहित भागेका थिए।

घटना भएपछि प्रहरीले उनलाई खोजतलास थालेको थियो र केही समयमै बालाजु बसपार्क क्षेत्रबाट नियन्त्रणमा लिएको हो।

ठकुरीलाई प्रारम्भिक अनुसन्धानका लागि पुनः प्रहरी वृत सोह्रखुट्टेमा राखिएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।