अशोक यादवमाथि पटक–पटक आपराधिक गतिविधिको आरोप, फेरि पक्राउको तयारी


अशोक यादवमाथि पटक–पटक आपराधिक गतिविधिको आरोप, फेरि पक्राउको तयारी
  • नवकिरण
  • अषाढ २१, २०८२

सर्लाही, असार २१ – सर्लाहीका प्रहरी प्रमुख एसपी योगेन्द्रकुमार खड्कासँग अपशब्द प्रयोग गरेको अभियोगमा जनता समाजवादी पार्टी (जसपा) मधेस प्रदेशका नेता तथा पूर्व प्रदेशसभा सदस्य अशोक कुमार यादवविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ। सर्लाही जिल्ला अदालतले शुक्रबार पक्राउ अनुमति दिएको हो।

प्रहरी स्रोतका अनुसार, बिहीबार राति एसपी खड्का र नेता यादवबीच फोनमा गालीगलौज भएको अडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाले गम्भीर मोड लिएको हो। यादवले सर्लाहीको भौतिक पूर्वाधार विकास कार्यालयमा “कमिसन उठाउने खेल” भइरहेको आरोप लगाउँदै त्यहाँ प्रहरीको संलग्नता रहेको दाबी गरेका थिए।

यादवका अनुसार, उनी बिहीबार साँझ मलंगवा पुगेका थिए, जहाँ कार्यालयका कर्मचारीले बाहिर ताल्चा लगाएर भुक्तानी वितरण गरिरहेको दृश्य देखिएको थियो। उनले प्रहरी प्रमुखलाई सो घटनाबारे जानकारी दिँदा विवाद चर्किएको बताउँछन्। प्रहरी भने कार्यालयको सुरक्षाका लागि खटिएको दाबी गर्दै आएको छ।

सर्लाही प्रहरीका अनुसार, यादवको आपराधिक पृष्ठभूमि निकै पुरानैदेखि रहेको छ। उनका नाममा चोरी, ज्यान मार्ने उद्योग, अभद्र व्यवहार, सरकारी कार्यालयमा तोडफोडलगायतका गम्भीर मुद्दा दर्ता छन्।

उनमाथि रहेका केही मुद्दाहरू यस्ता छन्:

२०५७ पुस ८: कृषि विकास कार्यालयमा कार्यरत कर्मचारीमाथि हातपात।

२०६६ असोज १०: जिल्ला शिक्षा कार्यालयको गाडी तोडफोड गरी नगद लुटपाट।

२०७२ पुस ५: जिल्ला प्रशासन कार्यालयमा तोडफोड र कर्मचारीमाथि अभद्र व्यवहार।

२०७२ फागुन ५: मादक पदार्थ सेवन गरी प्रहरीमाथि गालीगलौज।

२०७३ साउन १३: सरकारी कर्मचारीलाई ज्यान मार्ने धम्की।

२०७३ मंसिर २९: प्रहरी चेकजाँचमा अवरोध र गालीगलौज।

२०७७ जेठ २७: सडक विवादमा व्यक्तिमाथि कुटपिट, ज्यान मार्ने उद्योग मुद्दा।

यादवलाई नियन्त्रणमा लिन सर्लाहीको कबिलासी नगरपालिका–१० मा प्रहरी टोली पठाइएपछि स्थानीयबासीसँग झडप भएको थियो। झडपका क्रममा ढुंगामुढा हुँदा डीएसपी चढेको गाडीमा क्षति पुगेको प्रहरीले जनाएको छ।

हाल प्रहरी यादवमाथि थप कानुनी कारबाहीको तयारीमा रहेको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार, सार्वजनिक पदमा बसेका व्यक्तिबाट यस किसिमको आचरण हुनु गम्भीर विषय हो र त्यसअनुसार अनुसन्धान अघि बढाइएको छ।