इनरुवा, असार २९ – सुनसरीको इनरुवा नगरपालिका–९ स्थित बबिया शिवमन्दिर टोलमा आइतबार बिहान एक हृदयविदारक घटना सार्वजनिक भएको छ। ४२ वर्षीय सुदीप शर्मा खत्वेले आफ्नी कान्छी श्रीमती ३२ वर्षीया नविता खातुनको हत्या गरी पछि आत्महत्या गरेका छन्।
स्थानीयका अनुसार, सुदीपले बिहान मर्निङ वाकबाट फर्किएपछि श्रीमतीको घाँटी थिचेर हत्या गरे र त्यसपछि खातुनकै साडीको पासो लगाएर झुन्डिएर आत्महत्या गरे। दम्पतीबीच विगत ६ महिनादेखि पारिवारिक तनाव र झगडा भइरहेको बताइएको छ।
१० वर्षअघि प्रेम विवाह गरेका सुदीप र नविता हाल एकतले कच्ची घरमा बस्दै आएका थिए। काठमाडौंमा केही समय बसाइ गरेपछि उनीहरू हाल इनरुवामा आई बरफ तथा आइसक्रिम बेचेर गुजारा चलाइरहेका थिए।
स्थानीयहरूले दुवै जनालाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना पाएसँगै जिल्ला प्रहरी कार्यालय सुनसरीबाट पुगेको टोलीले घटनास्थलको मुचुल्का तयार गरी शवहरू पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाएको डीएसपी योगराज खतिवडाले जानकारी दिए।
सुदीपको पहिलेकी श्रीमतीबाट दुई सन्तान छन् भने खातुनले पनि पहिलेको वैवाहिक सम्बन्ध तोडेर सुदीपसँग विवाह गरेको बुझिएको छ। प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको जनाएको छ।