काठमाडौं, साउन २ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले देशभर फैलिएको भ्रष्टाचारविरुद्ध कडा कदम चाल्ने घोषणा गर्दै आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ज्ञापनपत्र बुझाउँदै छ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा आज दिउँसो १ बजे टंगालस्थित अख्तियारको केन्द्रीय कार्यालयमा पार्टी प्रतिनिधिमण्डल पुग्ने कार्यक्रम रहेको पार्टी प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिए।
पार्टीको असार १९ गते बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले देशव्यापी भ्रष्टाचारविरोधी अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो। त्यसको पहिलो चरणस्वरूप प्रदर्शन सहित आयोगमा ज्ञापनपत्र बुझाइने कार्यक्रम तय गरिएको हो।
प्रवक्ता श्रेष्ठका अनुसार, “हामी भ्रष्टाचारका सबै काण्डहरूको छानबिन र कारबाहीमा आयोगको सक्रियता माग गर्दै ज्ञापनपत्र बुझाउने छौं। यसमार्फत आयोगलाई दबाब दिने उद्देश्य राखिएको छ।”
राप्रपाले २०४६ साल यता उच्चपदस्थ नेता, कर्मचारी र तिनका नातेदारहरूको सम्पत्ति छानबिन गर्नुपर्ने मागसमेत राखेको छ। यस्तै मागसहित सम्पत्ति शुद्धीकरण विभागमा पनि निवेदन दिने तयारी भइरहेको श्रेष्ठले बताए।
उनले थपे, “राजनीतिक संरक्षण र संलग्नता विना ठूलो भ्रष्टाचार सम्भव छैन। त्यसैले सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै चरणबद्ध अभियान सञ्चालन गर्ने योजना रहेको छ।”
राप्रपाले अख्तियारका प्रदेश कार्यालयहरू तथा अन्य सम्बन्धित निकायहरूमार्फत पनि भ्रष्टाचारविरुद्ध दबाबमूलक अभियान अघि बढाउने जनाएको छ।