झापा, साउन २ – झापाको बिर्तामोडमा प्रहरीले ठुलो परिमाणको प्रतिबन्धित लागुऔषध बरामद गरेको छ। लागुऔषधको भण्डारण र कारोबारमा नेकपा एमालेका स्थानीय नेता भानुभक्त खरेलको संलग्नता खुलेपछि प्रहरीले उनीविरुद्ध खोजी कार्य सुरु गरेको छ।
इलाका प्रहरी कार्यालय अनारमनीले अर्जुनधारा नगरपालिका–६ का २५ वर्षीय विनोद घिमिरेलाई लागुऔषधसहित बिहीबार पक्राउ गरेको थियो। प्रारम्भिक अनुसन्धानमा घिमिरेले आफू भानुभक्त खरेलको निर्देशनमा काम गर्ने गरेको बताएका छन्।
प्रहरीका अनुसार, मंगलदीप टोलस्थित मनकुमार संग्रौलाको घरमा दुई कोठा भाडामा लिएर लागुऔषध राखिएको थियो। सो स्थानबाट प्रहरीले ट्रामाडोल क्याप्सुल १ लाख ३ हजार ८ सय, ट्रामाडोल इन्जेक्सन १ हजार ८७० एम्पुल, ट्रामाडोल–एसिटामिनोफेन ट्याब्लेट ४ हजार ५०, डिसाइक्लोमाइन ट्याब्लेट ९७ हजार, सिल्डेनाफिल ८ हजार ९ सय र मिफेप्रिस्टोन–मिसोप्रोप्सोल कम्बिप्याक ७ हजार ६५० ट्याब्लेटसहितको लागू औषध बरामद गरेको हो।
घटनाबारे शुक्रबार पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी विजय श्रेष्ठले कारोवारको मुख्य नाइके खरेल रहेको पुष्टि गरे। “अनुसन्धानको क्रममा खरेलबाटै यी लागुऔषधहरू सञ्चालित भएको खुलेको छ,” श्रेष्ठले भने।
खरेल बिर्तामोडका औषधी व्यवसायी हुन् र ‘सनलाइट फर्मा’ नामक फार्मेसी सञ्चालकका साथै एमालेका सक्रिय स्थानीय नेता हुन्। प्रहरीले पक्राउ परेका विनोद घिमिरेलाई ‘भरिया’ मात्र भएको बताएको छ। घिमिरेले पनि सञ्चारकर्मीहरूसामु आफूलाई कहाँ–कसले के ल्याउँछ थाहा नभएको र खरेलले दिएको आदेशअनुसार मात्र सामान पुर्याउने गरेको बताए।
हाल प्रहरी खरेलको खोजीमा जुटेको छ भने थप संलग्नता पत्ता लगाउन अनुसन्धान विस्तार गरिएको छ। प्रहरीले अन्य संलग्न व्यक्तिहरूको पहिचान गर्दै कारबाही प्रक्रिया अघि बढाउने जनाएको छ।