सिरहामा नेकपा एमाले नेताका बुवाको हत्या


सिरहामा नेकपा एमाले नेताका बुवाको हत्या
  • नवकिरण
  • श्रावण १४, २०८२

सिरहा, साउन १४ – सिरहाको धनगढीमाई नगरपालिका–११ मा एक वृद्धको रहस्यमय ढंगले हत्या भएको छ। लहान नगरपालिका–२४ निवासी ७५ वर्षीय फनिलाल यादव आफ्नै घरमा सुतिरहेको अवस्थामा धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो।

फनिलाल यादव नेकपा एमाले लहान नगर कमिटीका सदस्य तथा पूर्व वडा अध्यक्ष कमलदेव यादवका पिता हुन्। हत्या भएपछि आक्रोशित नेकपा एमालेका नेता तथा कार्यकर्ताहरूले पूर्व–पश्चिम महेन्द्र राजमार्गमा अवरोध गर्दै दोषीलाई तत्काल कारबाहीको माग गरेका छन्।

घटनाबारे जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी विरेन्द्र कुमार पासवानले जानकारी दिँदै, बिहान करिब ६:३० बजे प्रहरीलाई खबर प्राप्त भएको र तत्काल टोली खटाईएको बताए। गम्भीर अवस्थामा भेटिएका यादवलाई उपचारका लागि अस्पताल लगिएको थियो तर बिहान साढे ८ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

हत्या किन र कसले गर्‍यो भन्नेबारे यतिबेला अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनाले सिरहामा तनावपूर्ण अवस्था सिर्जना गरेको छ।