हत्याको इतिहास दोहोरियो: पूर्वकैदीले गरे प्रेमीका र छोरीमाथि खुकुरी प्रहार


हत्याको इतिहास दोहोरियो: पूर्वकैदीले गरे प्रेमीका र छोरीमाथि खुकुरी प्रहार
  • नवकिरण
  • श्रावण १५, २०८२

जनकपुरधाम, साउन १५ – धनुषाको जनकपुरमा भएको खुकुरी आक्रमणकाे घटनाले स्थानीयलाई स्तब्ध बनाएको छ। सोमबार राति भएको यो घटनामा १५ वर्षीया किशोरीको ज्यान गएको छ भने दुई महिला गम्भीर घाइते भएका छन्।

खुकुरी प्रहार गरी हत्या र घाइते बनाएको अभियोगमा सिरहा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका–९ का ४३ वर्षीय रामबाबु साहलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ परेका साह पहिले पनि हत्या अभियोगमा जेल बसेका व्यक्ति हुन्। उनले २०७१ सालमा आफ्नै जेठी श्रीमती सरिता देवीको हत्या गरेका थिए र पाँच वर्ष कैद भोगेपछि २०७७ सालमा रिहा भएका थिए। रिहाइपछि उनले दोस्रो विवाह गरेका थिए र त्यसपछि आशा यादवसँगको प्रेम सम्बन्धमा आबद्ध भएका थिए।

साहले हालै जनकपुरधाम उपमहानगरपालिका–४ स्थित डेरामा बस्दै आएकी ३६ वर्षीया आशा यादव, उनकी छोरी अञ्जली कुमारी यादव (१५) र भतिजी राधा यादव (१४)माथि खुकुरी प्रहार गरेका थिए।

यो आक्रमणमा अञ्जलीको घटनास्थलमै मृत्यु भयो भने आमा आशा गम्भीर घाइते भइ धरानमा उपचाररत छिन्। राधा उपचारपछि डिस्चार्ज भइसकेकी छन्।

प्रहरी प्रवक्ता डीएसपी वरुणबहादुर सिंहका अनुसार रामबाबुले आक्रोशको कारण खुकुरी बोकेर आशाको कोठामा पुगेका थिए। प्रहरी अनुसन्धान अनुसार पछिल्लो समय आशा र रामबाबुको सम्बन्धमा खटपट हुँदै गएको थियो। रामबाबुले आशाका लागि अटो रिक्सासमेत किनिदिएका थिए, तर त्यसलाई आशाले आफ्नो भाइको नाममा पास गरेकी थिइन् र रामबाबुसँग टाढिन खोजेकी थिइन्।

यही तनावका बीच रामबाबुले धेरैपटक फोन गर्दा पनि आशाले जवाफ नदिएको र अन्ततः गालीगलौज पछि उनी क्रुद्ध भएर खुकुरी प्रहारमा उत्रिएको अनुसन्धानमा खुलेको छ।

रामबाबु पक्राउ परेपछि प्रहरीले खुकुरी र मोटरसाइकल समेत बरामद गरेको छ। उनीमाथि कर्तव्य ज्यानसम्बन्धी अभियोगमा कानुनी प्रक्रिया अघि बढाइएको छ।

यस घटनाले आपराधिक मनोवृत्ति भएका व्यक्तिहरू जेलबाट छुटेपछि समेत समाजमा कसरी खतरनाक बन्न सक्छन् भन्ने चिन्ताजनक पक्ष उजागर गरेको छ। स्थानीयवासीले पीडित परिवारलाई न्याय र दोषीलाई कडा सजायको माग गरेका छन्।