धनगढी, साउन १७ – कैलालीको बर्दगोरिया गाउँपालिकामा रहेको एक सेकुवा सेन्टरमा कार्यरत १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या गरिएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बर्दगोरिया–३ की याचना सेजवालको बर्दगोरिया–१ मा रहेको राजधानी सेकुवा एन्ड म:म सेन्टरमै हत्या गरिएको हो।
उनीमाथि सोही सेन्टरमा काम गर्ने ३३ वर्षीय नृप साउदले चक्कु प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार शनिबार बिहान भएको घटनामा गम्भीर घाइते भएकी सेजवाललाई तत्काल उपचारका लागि धनगढीस्थित निसर्ग अस्पताल पुर्याइएको थियो। तर उपचारको क्रममा उनको मृत्यु भएको हो।
हत्या आरोपित साउदलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।