झापा, साउन २१ – झापा गाउँपालिका–१ लसुनामा मंगलबार राति रुखमा बाँधिएका एक वृद्धको बुधबार बिहान मृत्यु भएको अवस्थामा फेला परेपछि प्रहरी अनुसन्धानमा जुटेको छ।
स्थानीय ६० वर्षीय जतन सोरेनलाई मदिरा सेवन गरेर छिमेकीको घरअगाडि हल्ला गरेपछि गाउँलेले नियन्त्रणमा लिएर आँपको रुखमा प्लास्टिकको डोरीले बाँधेका थिए। तर, बिहान करिब ४ बजे उनी मृत अवस्थामा फेला परे।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्रबहादुर खड्काका अनुसार घटनामा संलग्न आशंकामा चार जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेहरूमा मृतकका छोरा २७ वर्षीय अनतलाल सोरेन, महादेव टुडु (५०), लुखिराम टुडु (२०) र लखिराम टुडु (२१) रहेका छन्।
प्रहरीका अनुसार बाँकी केही व्यक्ति फरार रहेका छन् र उनीहरूको खोजी कार्य जारी छ। पक्राउ परेकाहरूमाथि ज्यानसम्बन्धी मुद्दा अगाडि बढाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ।