सेयर ठगी प्रकरणः ११ करोड नफिर्ता गरेको आरोपमा जयन्त श्रीवास्तव प्रहरीमा


सेयर ठगी प्रकरणः ११ करोड नफिर्ता गरेको आरोपमा जयन्त श्रीवास्तव प्रहरीमा
  • नवकिरण
  • श्रावण २१, २०८२

काठमाडौं, साउन २१ – सेयर कारोबारसम्बन्धी ठगी आरोपमा सिप्रबी सेक्युरिटिजका महाप्रबन्धक जयन्त श्रीवास्तव काठमाडौं प्रहरी परिसरमा पुगेका छन्। उनीमाथि ११ करोड ५५ लाख रुपैयाँ फिर्ता नगरेको आरोप लागेको हो।

श्रीवास्तवविरुद्ध सेयर व्यापारी दीपेन्द्र अग्रवालले उजुरी दर्ता गराएका हुन्। उजुरीमा मिता मुरारका अग्रवाल र ज्योति अग्रवालसहित १५ जनाका नाममा सेयर कारोबार गरिए पनि उनीहरूले पाउनुपर्ने रकम नपाएको उल्लेख छ।

धितोपत्र बोर्डको प्रारम्भिक अनुसन्धान अनुसार, अग्रवालले ती नाममा सेयर किनबेच गर्दै मूल्य कृत्रिम रूपमा बढाउने र त्यसपछि सामाजिक सञ्जालमार्फत सर्वसाधारणलाई आकर्षित गराउने कार्य गर्दै आएका थिए। सोही प्रक्रिया अन्तर्गत भएको कारोबारबाट प्राप्त रकम फिर्ता नपाएको भन्दै ठगीको उजुरी परेको हो।

प्रहरीका अनुसार श्रीवास्तव स्वयं प्रहरी परिसरमा हाजिर भएका छन् र उनीमाथि आवश्यक अनुसन्धान सुरु गरिएको छ। हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति लिएर प्रक्रिया अगाडि बढाइने जनाइएको छ।

प्रहरी स्रोतका अनुसार, “उजुरीका आधारमा ठगी मुद्दा दर्ता गरिएको छ। अनुसन्धानको चरण सुरु भइसकेको छ र कानुनी प्रक्रिया बमोजिम अघि बढ्नेछ।”