काठमाडौँ, भदौ १७ – राजधानीको गोंगबु टाउन प्लानिङ क्षेत्रस्थित एक घरमा प्रहरीले मंगलबार दिउँसो ठूलो मात्रामा नगद बरामद गरेको छ।
उपत्यका प्रहरी कार्यालय रानीपोखरी र जिल्ला प्रहरी परिसर काठमाडौँको संयुक्त टोलीले प्राप्त विशेष सूचनाका आधारमा घरमा छापा मार्दा करिब ४ करोड रुपैयाँ भेटिएको हो।
घटनास्थलमै गोरखा घर भएका विनोद श्रेष्ठलाई पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयका एआईजी टेकबहादुर तामाङले जानकारी दिए।
यसैबीच, छापा मारिएको घरबाट केही सुनका गहना समेत फेला परेको प्रहरीले जनाएको छ। थप अनुसन्धानका लागि अहिले काठमाडौंका प्रहरी प्रमुख विश्व अधिकारी स्वयं टोलीसहित घटनास्थलमा पुगेका छन्।
प्रहरीका अनुसार बरामद नगद र गहनाको श्रोत पत्ता लगाउने कार्य अघि बढाइएको छ।