उदयपुरमा अनुदानको मल लुकाउने व्यापारी पक्राउ, किसानलाई वितरण सुरु


उदयपुरमा अनुदानको मल लुकाउने व्यापारी पक्राउ, किसानलाई वितरण सुरु
  • नवकिरण
  • भाद्र १८, २०८२

काठमाडौं, भदौ १८ – किसानलाई वितरणका लागि पठाइएको २०० बोरा अनुदानको मल लुकाएर राख्ने व्यापारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा उदयपुरको कटारीस्थित आशुतोष ट्रेडर्स एण्ड जनरल स्टोर्सका सञ्चालक दिलीप चौधरी रहेका छन्। इलाका प्रहरी कार्यालय कटारीका डीएसपी कमल बजगाईंका अनुसार चौधरीलाई मंगलबार जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको छ।

जिल्ला प्रशासन कार्यालय उदयपुरको नेतृत्वमा १२ भदौमा गरिएको बजार अनुगमनका क्रममा चौधरीको गोदाममा सरकारले अनुदानका रूपमा पठाएको मल फेला परेको थियो। गोदाममा अवैध रूपमा मल लुकाइएकाले तत्काल शिलबन्दी गरी अनुसन्धान अघि बढाइएको थियो।

पछिल्लो सर्वदलीय छलफलपछि उक्त मल किसानलाई वितरण गर्ने निर्णय गरिएको हो। पहिलो चरणमा १७५ बोरा मल वडा नं. १ देखि ७ सम्मका किसानलाई पठाइएको छ। वितरणका क्रममा प्रति बोरा एक हजार रुपैयाँ लिने र उक्त रकम राजस्व खातामा जम्मा गर्ने व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ।

प्रहरीले बाँकी मल पनि आवश्यक प्रक्रिया पूरा गरेर किसानसम्म पुर्याउने कार्य अघि बढाइरहेको जानकारी दिएको छ।