पूर्वप्रधानमन्त्री ओलीविरुद्ध ‘ज्यान मुद्दा’ उजुरी


पूर्वप्रधानमन्त्री ओलीविरुद्ध ‘ज्यान मुद्दा’ उजुरी
  • नवकिरण
  • भाद्र २८, २०८२

भदौ, बुटवल २८ – नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद अभिषेक प्रताप शाहले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दामा उजुरी दर्ता गराएका छन्।

शाहले जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमार्फत काठमाडौंको नयाँ बानेश्वर प्रहरी वृत्तमा उजुरी पठाएका हुन्। जेनजी आन्दोलनका क्रममा भएको प्रदर्शनमा गोली चलाउने आदेश ओलीले दिएका कारण धेरै युवाको ज्यान गएको आरोप उजुरीमा उल्लेख छ।

शनिबार शाहले कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङलाई उजुरी बुझाएका थिए। तामाङले उक्त उजुरीलाई आवश्यक प्रक्रिया अनुसार सम्बन्धित निकायमा पठाइने बताए।

उजुरीपत्रमा १७ देखि ४५ वर्ष उमेर समूहका १०/१५ जनाभन्दा बढी युवाले ज्यान गुमाएको उल्लेख गरिएको छ। मृत्यु हुनेमा सुलभ राज श्रेष्ठ, यम चौलागाईं, बुद्धि तामाङ, मिसल सारू मगर, पारुहाङ उतमल राई, योगेन्द्र न्यौपाने, विनोद महर्जन, दिल नारायण तामाङ, प्रविन कुलुङ, उमेश महत, निता गौतम, सौरभ किशोर श्रेष्ठ, सुवास बोहरा र नीरज पन्तलगायतका नाम समावेश छन्।

तर, काठमाडौं प्रहरी परिसरका एसपी अपिलराज बोहराले अहिलेको अवस्थामा उजुरी दर्ता गर्न नसकिने बताएका छन्। उनका अनुसार, ‘प्रहरी वृत्तमा उजुरी दर्ता गर्ने व्यवस्था तत्काल छैन, व्यवस्थापनकै प्रक्रियामा छौं।’