जेनजी प्रदर्शनका क्रममा ललितपुरमा २२ जना पक्राउ, आपराधिक गतिविधि अनुसन्धानमा


जेनजी प्रदर्शनका क्रममा ललितपुरमा २२ जना पक्राउ, आपराधिक गतिविधि अनुसन्धानमा
  • नवकिरण
  • आश्विन १०, २०८२

काठमाडौं, असोज १० – जेनजी प्रदर्शनका क्रममा ललितपुरमा भएको तोडफोड र आगजनीमा संलग्न रहेको आरोपमा प्रहरीले २२ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ ।

ललितपुर प्रहरीले पक्राउ परेकाहरूलाई आपराधिक उपद्रव, चोरी र संगठित अपराधमा संलग्न रहेको दाबी गर्दै म्याद लिएर अनुसन्धान अघि बढाएको छ ।

ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार कुपण्डोल र हनुमानस्थान क्षेत्रमा तोडफोड तथा आगजनी गरेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिइएको छ । पक्राउ पर्नेमा ललितपुर–२ की २४ वर्षीया सृष्टि तामाङ र बैतडी घर भई कुपण्डोल बस्ने २४ वर्षीय धिरेन्द्र चन्द रहेका छन् ।

त्यसैगरी, इमाडोल प्रभागमा तोडफोड तथा आगजनीमा संलग्न रहेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरू काभ्रे, धनकुटा, रामेछाप, उदयपुर, सोलुखुम्बु र सिन्धुली घर भएका युवा रहेका छन् ।

हरिसिद्धि प्रहरी प्रभागमा हमला गरी पेस्तोल लुटेको अभियोगमा ओखलढुङ्गा घर भई गोदावरी–१४ बस्ने दिपक राई पक्राउ परेका छन् ।

यस्तै, ललितपुर–११ निवासी करणा शाक्यको घरमा डकैतीमा संलग्न रहेको अभियोगमा रौतहट, बारा, काभ्रे र पर्साका चार युवालाई समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूलाई अहिले थप सोधपुछ तथा कानुनी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।