सर्लाही, असोज २२ – प्रहरीमाथि कुटपिट र प्रहरी चौकीमा आक्रमण गरेको आरोपमा सर्लाहीको गोडैता नगरपालिका–७ का वडाध्यक्ष विनेशकुमार दास (छोटेलाल) पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईका अनुसार ४० वर्षीय वडाध्यक्ष दासलाई मंगलबार बागमती नगरपालिकास्थित इलाका प्रहरी कार्यालय कर्मैयाको अगाडि पक्राउ गरिएको हो।
दासको नेतृत्वमा असोज १७ गते साँझ गोडैता प्रहरी चौकीमा ढुंगामुढा र लाठी–भाटा प्रयोग गरिएको आरोप छ। सो घटनामा प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक अवधेशप्रसाद यादवको दुईवटा अगाडिका दाँत भाँचिएको र अन्य पाँच जना प्रहरी घाइते भएको प्रहरीले जनाएको छ।
आक्रमणका क्रममा चौकीमा रहेका तीनवटा मोटरसाइकल क्षतिग्रस्त भएका थिए। घटना दुर्गा पूजाका लागि चन्दा उठाउने विवादबाट सुरु भएको बताइएको छ। स्थानीय कारिल यादवमाथि कुटपिट भएको घटनापछि पक्राउ परेका अभियुक्तको पक्षमा आएका वडाध्यक्ष दाससहितको समूहले प्रहरी चौकीमै आक्रमण गरेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।
पक्राउ परेका वडाध्यक्ष दासलाई कुटपिट, अङ्गभङ्ग, ज्यान मार्ने उद्योग र आपराधिक उपद्रव सम्बन्धी मुद्दामा सर्लाही जिल्ला प्रहरी कार्यालय मलंगवामा राखी अनुसन्धान भइरहेको छ।
यसैबीच, वडाध्यक्षको पक्राउको विरोधमा बुधबार बिहानैदेखि गोडैता बजार बन्द गरिएको छ। बजार क्षेत्रका पसल र सवारी सञ्चालन ठप्प रहँदा स्थानीयमा तनावपूर्ण अवस्था देखिएको छ।