काठमाडौं, असोज २७ – सुन तस्करी प्रकरणमा संलग्नता देखिएको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गरेको छ।
कार्यालयका प्रमुख रामहरि काफ्लेले महराविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बिगो र ३ वर्षभन्दा बढी कैद सजायको माग दाबी गरिएको जानकारी दिएका छन्।
महराविरुद्ध मंगलबारदेखि थुनछेक बहस सुरु हुने र त्यसपछि अदालतले उनलाई धरौटीमा रिहा गर्ने वा थुनामा राख्ने निर्णय गर्ने बताइएको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई आइतबार पक्राउ गरेको थियो। महरामाथि विद्युतीय चुरोट (भेप) भित्र लुकाइएको सुन विमानस्थल भन्सारबाट छुटाउन दबाब दिएको आरोप लगाइएको छ।
२०७९ पुस १० गते फ्लाई दुबईको एफजेट ०५८७ उडानमार्फत काठमाडौं आएका चिनियाँ नागरिक लि हानसोङले ल्याएका दुई सुटकेश चेकजाँच गर्दा भेप फेला परेको थियो। उक्त भेप भन्सार कार्यालयले नियन्त्रणमा लिएपछि लामो समयसम्म त्यहीँ थन्किएको थियो।
तर, सोही भेपमा रहेको सुन विमानस्थलभित्रकै कर्मचारीले साटेको शंका लागेपछि २०७९ वैशाख २६ गते भन्सारले सीआईबीलाई अनुसन्धानको जिम्मा दिएको थियो।
करीब दुई महिना लगाएर गरिएको अनुसन्धानपछि सीआईबीले ९ किलो सुन तस्करी भएको पुष्टि गर्दै भन्सारका नासु रेवन्त खड्कासहित ६ जनामाथि मुद्दा चलाएको थियो।
त्यसपछि गरिएको पूरक अभियोजनमा चिनियाँ मूलका बेल्जियम नागरिक दावा छिरिङ, उनका चालक लोकेन्द्र पौडेल, साथै राहुल महरा र नीमा गुरुङलाई समेत मतियारका रूपमा मुद्दा दायर गरिएको हो।
सीआईबीले केही दिनअघि महराको बयान लिएर फाइल अदालतमा पठाएको र अब सुनुवाइ प्रक्रिया अघि बढ्ने बताइएको छ।