जेनजी प्रदर्शनको सुरक्षा चुक : सशस्त्रका डीएसपीसहित १७ जनामाथि कारबाहीको सिफारिस


जेनजी प्रदर्शनको सुरक्षा चुक : सशस्त्रका डीएसपीसहित १७ जनामाथि कारबाहीको सिफारिस
  • नवकिरण
  • मंसिर १६, २०८२

काठमाडौं, मंसिर १६ – जेनजी आन्दोलनको क्रममा मिनभवन र बेलडाँगी क्षेत्रमा सशस्त्र प्रहरीको बेसबाट हतियार र सामग्री जोगाउन नसकेको भन्दै आन्तरिक छानबिन समितिले डीएसपी गौतम कुँवर सहित १७ जनामाथि विभागीय कारबाही सिफारिस गरेको छ।

भदौ २४ गते प्रदर्शन तीव्र बनेपछि मिनभवनस्थित सशस्त्र प्रहरी बेस र झापाको बेलडाँगीमा भुटानी शरणार्थी शिविरको सुरक्षामा खटिएको टोलीमाथि आगजनी र तोडफोड भएको थियो। यस क्रममा सशस्त्रबाट ठूलो संख्यामा हतियार हराएका थिए। छानबिन समितिले त्यही घटनालाई सुरक्षा व्यवस्थापनको गम्भीर कमजोरी ठहर गर्दै जिम्मेवार अधिकारीलाई कारबाहीको सुझाव दिएको हो।

समितिका प्रमुख सशस्त्र प्रहरी डीआईजी कमल गिरीको नेतृत्वमा निर्माण गरिएको टोलीले मिनभवनमा खटिएका १३ जना र बेलडाँगीका ४ जनासहित कुल १७ जनामाथि विभागीय कारबाही गर्न सिफारिस गरेको छ। छानबिन प्रतिवेदनमा आन्दोलनका क्षणहरूमा सशस्त्रको समग्र भूमिकाबारे सकारात्मक र नकारात्मक दुवै पक्षको मूल्यांकन समेटिएको जनाइएको छ।

डीएसपी कुँवर जेनजी आन्दोलनको झडपका बेला मिनभवन बेसका प्रमुख थिए। हाल उनी सिनामंगलस्थित नम्बर–२० विपद् उद्धार गणमा कार्यरत छन्। समितिको निष्कर्षअनुसार कुँवर नेतृत्वको टोलीले आफ्नो नियन्त्रणमा रहेको बेस र हतियार सुरक्षित राख्न असफल भएको बताइएको छ। आन्दोलनकारीहरूले यातायात व्यवस्था कार्यालय परिसरमा रहेको सशस्त्र बेसमा तोडफोड र आगजनीसमेत गरेका थिए।

मिनभवनबाट २० थान एसएलआर हराएको तथा तीमध्ये ११ थान जलेको अवस्थामा फेला परेको एक उच्च अधिकारीले जानकारी दिए। बानेश्वरबाट लुटिएको एक एसएलआर भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ब्रम्हायणी क्षेत्रमा भेटिएको थियो। त्यही हतियारमा ‘नम्बर–२० गण २९०’ को अंकन रहेको थियो।

झापाको बेलडाँगीमा पनि ४ नाल एसएलआर आगजनी भएको अवस्थामा भेटिएको छ। समितिले यो सम्पूर्ण घटनालाई सुरक्षा संवेदनशीलतामा देखिएको ‘स्पष्ट विफलता’ को उदाहरणका रूपमा उल्लेख गरेको छ।

सशस्त्र प्रहरी स्रोतका अनुसार मिनभवन र बेलडाँगीबाट करिब ४० थान हतियार हराएको अनुमान छ। लुटिएका मध्ये १५–२० थान विभिन्न ठाउँबाट बरामद भइसकेको बताइएको छ। अझै पनि आधिकारिक तथ्यांक भने सशस्त्र प्रहरी प्रधान कार्यालयबाट औपचारिक रूपमा सार्वजनिक गरिएको छैन।

जेनजी प्रदर्शनका क्रममा सशस्त्र प्रहरीका ५० भन्दा बढी सवारी साधनमा आगजनी भएको थियो। संसद भवन, सिंहदरबार, रानीपोखरी र भैंसेपाटीस्थित मन्त्रीक्वार्टर क्षेत्रमा सशस्त्र प्रहरीका गाडीसमेत जलाईएको थियो।