काठमाडौं, माघ १५ – सैनिक मुख्यालय जंगी अड्डा अगाडि बम राखिएको भन्दै हल्ला फैलाएको आरोपमा एक जना व्यक्ति पक्राउ परेका छन्।
सैनिक प्रहरीले सल्यान घर भएका जुद्धबहादुर सिंहलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि नेपाल प्रहरीको जिम्मा लगाएको जनाएको छ। उनले जंगी अड्डा अगाडिको पेट्रोल पम्प नजिक झोलाभित्र बम राखिएको भन्दै त्रास फैलाएको आरोप छ।
सुरक्षा निकायले घटनाबारे सूचना पाएपछि तत्काल झोला जाँच गर्दा त्यसमा बम नभई इटा मात्र भेटिएको प्रहरीले जानकारी दिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको र झुटो सूचना फैलाएर सार्वजनिक शान्ति सुरक्षामा खलल पुर्याएको आरोपमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
