काठमाडौं, माघ १६ – बारामा एकै परिवारका आमाछोराको हत्या घटनामा बुहारीको मुख्य भूमिका रहेको निष्कर्ष प्रहरीले निकालेको छ। विवाहेत्तर सम्बन्धका कारण बुहारीले प्रेमीको सहयोगमा श्रीमान् र सासुको हत्या गराएको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो।
गत १४ माघको राति परवानीपुर गाउँपालिका–१, रहरिया हिडमा ४६ वर्षीया सुमीत्रा मण्डल र उनका ३१ वर्षीय छोरा राम ईश्वर मण्डलको धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो। घटनामा सुमीत्राका श्रीमान् र छोरी घाइते भएका छन्।
प्रहरीका अनुसार मृतक राम ईश्वरकी श्रीमती २३ वर्षीया मनिता देवी मण्डलको बाराकै युवक धर्मेन्द्र महतो धानुकसँग प्रेम सम्बन्ध थियो। उक्त सम्बन्ध परिवारलाई थाहा पाएपछि विवाद बढेको थियो।
हत्या योजना बनाएर मनिताले दुबईमा रहेका प्रेमीलाई नेपाल बोलाएको र सँगै मिलेर घटना घटाइएको प्रहरीले जनाएको छ। दुवै जनालाई पक्राउ गरी कर्तव्य ज्यानको कसुरमा अनुसन्धान अघि बढाइएको छ।
