सुर्खेत, फागुन २८ – सुर्खेतमा बलात्कारपछि हत्या गरिएकी १६ वर्षीया इनिसा विकको घटनाबारे थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गर्ने भएको छ। घटनाको गाम्भीर्यतालाई ध्यानमा राख्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतले सीआईबीसँग सहयोग मागेपछि केन्द्रीय टोली अनुसन्धानमा खटिन लागेको हो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता तथा डीएसपी मोनजंग बुढथापाका अनुसार प्रहरी निरीक्षकको नेतृत्वमा रहेको सीआईबीको विज्ञ टोली शुक्रबारसम्म वीरेन्द्रनगर आइपुग्नेछ। उनले जिल्लास्तरबाट पहिलो चरणको अनुसन्धान सकिएको र अब थप तथ्य प्रमाण संकलनका लागि सीआईबीको सहयोग लिइएको बताए।
प्रहरीका अनुसार घटनासम्बन्धी पोस्टमार्टम रिपोर्ट प्राप्त भइसकेको छ। साथै पीडित र आरोपित पक्षका मोबाइल तथा अन्य विद्युतीय सामग्री अनुसन्धानका लागि केन्द्रीय विधिविज्ञान प्रयोगशालामा पठाइएको छ। त्यहाँ टकसिकोलोजिकल र बायोसेरोलोजिकल परीक्षण भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक सुधिरराज शाहीका अनुसार प्रयोगशालाबाट प्राप्त रिपोर्ट, पोस्टमार्टम विवरण र अन्य प्रमाणको आधारमा घटनाको अन्तिम निष्कर्षमा पुगिनेछ। यसका साथै अनुसन्धानमा सहयोग पुर्याउन कर्णाली प्रदेश प्रहरी कार्यालय नेपालगञ्जबाट आएको टोलीले पोलिग्राफ परीक्षण समेत गरिरहेको छ।
गुर्भाकोट–६ बडाखोली स्थायी घर भएकी इनिसा विकको फागुन २३ गते बिहान वीरेन्द्रनगर–४ स्थित शहीद पार्क नजिकको जनजागरण सामुदायिक वनमा बलात्कारपछि हत्या भएको अवस्थामा शव फेला परेको थियो। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले हालसम्म चार जनालाई पक्राउ गरिसकेको छ। पक्राउ परेका सबै जना १८ वर्षमुनिका किशोर रहेको प्रहरीले जनाएको छ।
