काठमाडौं, चैत १५ – तीन पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहालको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ।
सम्पत्ति शुद्धीकरण विभागको पत्राचारपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान सुरु गरेको हो। गृह स्रोतका अनुसार विभागले पठाएका विवरणहरूका आधारमा सीआईबीले छानबिनलाई तीव्रता दिएको छ।
अहिलेको प्रक्रिया अनुसार आइतबार कांग्रेस नेता तथा पूर्वऊर्जा मन्त्री दीपक खड्का सम्पत्ति छानबिनको क्रममा पक्राउ परेका छन्। सीआईबीका एआईजी डा. मनोज केसीका अनुसार, “विभागको पत्रअनुसार उहाँलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो।”
पूर्वप्रधानमन्त्रीहरूको निवासमा भइसकेको अनुसन्धानमा केही आर्थिक कागजात र प्रमाण संकलन गरिएको थियो। शेरबहादुर देउवाको निवासमा जेनजी आन्दोलनको समयमा पैसा भेटिएको थियो भने प्रचण्डकी छोरी गंगाको निवास र ओलीको निवासमा पनि मुचुल्का उठाइएको थियो।
यस अनुसन्धानलाई थप गहिराइमा अगाडि बढाउँदै सीआईबीले अब तीनै पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिनमा सक्रियता बढाएको बताइएको छ।
