काठमाडौं, चैत १५ – पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओली सम्बन्धी ‘थुना म्याद थप’ प्रकरणमा अदालतमा भएको बहसका क्रममा उनलाई थुनाबाहिर राखेर अनुसन्धान गर्नुपर्ने माग उठाइएको छ ।
आइतबार जिल्ला अदालतमा भएको सुनुवाइका क्रममा पूर्वमहान्यायाधिवक्ता रमेश बडाल ले ओलीलाई हिरासतमा नराखी अनुसन्धान अघि बढाउनुपर्ने तर्क पेश गरेका हुन् । उनले घटनाको प्रकृति र अवस्था हेर्दा उनी फरार हुने वा प्रमाण नष्ट गर्ने सम्भावना न्यून रहेको जिकिर गरे ।
न्यायाधीश आनन्द श्रेष्ठको इजलासमा बहस गर्दै बडालले भदौ २३ र २४ गतेसँग सम्बन्धित घटनामा ओलीको प्रत्यक्ष संलग्नता पुष्टि हुने पर्याप्त आधार नरहेको बताए । साथै, ‘मनशायपूर्वक हत्या प्रयास’ भन्ने प्रतिवेदनको निष्कर्षमाथि पनि प्रश्न उठाउँदै त्यसकै आधारमा मुद्दा अघि बढाउनु उचित नहुने धारणा व्यक्त गरे ।
उनले जेनजी आन्दोलनका क्रममा गोली चलाउने आदेश दिएको ठोस प्रमाण नभएको उल्लेख गर्दै केवल प्रतिवेदनकै आधारमा अभियोजन गर्नु न्यायोचित नहुने तर्क गरे । छानबिन आयोगको प्रतिवेदनलाई मात्र आधार बनाएर कानुनी प्रक्रिया अघि बढाउन नमिल्ने उनको भनाइ थियो ।
उक्त प्रकरणमा अदालतले थप निर्णय गर्नुअघि बहस जारी रहेको जनाइएको छ ।
