“खीर मात्र होइन, खुशी पनि बाँड्नुपर्छ” – प्रधानमन्त्री ओली


“खीर मात्र होइन, खुशी पनि बाँड्नुपर्छ” – प्रधानमन्त्री ओली
  • नवकिरण
  • श्रावण १५, २०८२

काठमाडौं, साउन १५ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली संस्कृति र परम्पराको संरक्षण र प्रवर्द्धनमा जोड दिँदै साउन १५ लाई साझा खुशी र सहभागिताको पर्वका रूपमा मनाउन आग्रह गरेका छन्।

नेकपा (एमाले)को साहित्य, कला तथा संस्कृति विभागले आयोजना गरेको स्रष्टा भेटघाट तथा खीर खाने कार्यक्रममा सहभागी हुँदै प्रधानमन्त्री ओलीले भने, “हरेक नेपाली नागरिकले साउन १५ मा उत्सवको रुपमा खीर खान पाउने व्यवस्था हुनुपर्छ। त्यो वातावरण बनाउन अबको प्रयास त्यतै केन्द्रित हुनुपर्छ।”

उनले साउन १५ लाई केवल परम्परा नभई सामाजिक सद्भाव र एकताको प्रतीकका रूपमा लिनुपर्ने उल्लेख गरे।

यस अवसरमा प्रधानमन्त्रीले तराई–मधेश क्षेत्रमा यो वर्ष परेको सुक्खाको असरप्रति चिन्ता व्यक्त गर्दै सिँचाइ सुविधा विस्तारमा सरकार गम्भीर भएको जानकारी दिए। “सुनकोशी–मरिन डाइभर्सन, रानी जमरा कुलरिया र तमोरलगायतका प्रमुख सिँचाइ आयोजना छिटो सम्पन्न गर्न निर्देशन दिइएको छ,” उनले भने।

कार्यक्रममा प्रधानमन्त्रीले संस्कृति र परम्पराले राष्ट्रिय एकता बलियो बनाउने भन्दै स्रष्टाहरूको भूमिकालाई पनि उच्च मूल्यांकन गरे। उनका अनुसार यस्ता साझा चाडपर्वमा सबैको सहभागिता सुनिश्चित हुनसके मात्र सांस्कृतिक पहिचान जीवन्त रहनेछ।

उनको यो अभिव्यक्ति देशमा समान अवसर र साझा खुशीको वातावरण निर्माणतर्फ सन्देशमूलक प्रयासका रूपमा हेरिएको छ।