बिहार, साउन २५ – भारतले बिहारको सीतामढीस्थित पुनौरा धामलाई माता जानकीको जन्मस्थलका रूपमा विकास गर्ने तयारी तीव्र पारेको छ। शुक्रबार भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले सो मन्दिर पुनर्विकास परियोजनाको शिलान्यास गर्दै यसलाई ऐतिहासिक कदमको संज्ञा दिए।
राज्य मन्त्रिपरिषद्ले गत जुलाई १ मा मन्दिर परिसरको एकीकृत विकासका लागि ८८२.८७ करोड रुपैयाँ बराबरको बजेट स्वीकृत गरिसकेको छ। उक्त रकममध्ये १३७ करोड रुपैयाँ पुरानो मन्दिर र यसको परिसर मर्मत–विस्तारमा र बाँकी ७२८ करोड रुपैयाँ धार्मिक तथा सांस्कृतिक पर्यटनसम्बन्धी पूर्वाधार निर्माणमा खर्च गरिनेछ।
समारोहमा केन्द्रीय मन्त्रीहरू गिरिराज सिंह र चिराग पासवानले पनि यस परियोजना धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे। शाहले आफ्नो सामाजिक सञ्जाल ‘एक्स’ मार्फत मन्दिर भूमिपूजनको अनुभव साझा गर्दै यसलाई ‘भव्य र दिव्य’ अवसर भएको टिप्पणी गरे।
यस अवसरमा शाहले सीतामढी–दिल्ली अमृत भारत एक्सप्रेस रेलको पनि भर्चुअल उद्घाटन गरेका थिए।
यद्यपि, भारत सरकारले पुनौरा धामलाई जानकी जन्मस्थलको रूपमा आधिकारिक मान्यता दिएको स्पष्ट ऐतिहासिक प्रमाण वा सरकारी निर्णय मिति सार्वजनिक छैन। तर पछिल्ला वर्षहरूमा बिहार सरकारले यो दाबीलाई जोडका साथ अघि सार्दै आएको छ।
विशेषज्ञहरूका अनुसार यो पहलले नेपालको जनकपुरधामस्थित ऐतिहासिक जानकी मन्दिरलाई धार्मिक र सांस्कृतिक महत्त्वको प्रतिस्पर्धा दिन सक्ने देखिन्छ।