काठमाडौं, असोज १४ – दसैँ नजिकिँदै गर्दा उपत्यकाबाट बाहिरिने यात्रुको चाप दिनप्रतिदिन बढ्दै गएको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका तथ्यांकअनुसार घटस्थापनादेखि मंगलबार बिहानसम्म करिब पाँच लाख ५३ हजार मानिस उपत्यका छाडिसकेका छन्।
प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीका अनुसार यात्रुको सहज आवागमनका लागि प्रमुख सवारी नाकामा अतिरिक्त ट्राफिक प्रहरी परिचालन गरिएको छ। उनले आपतकालीन उद्धार टोली, हेल्प डेस्क र अनुगमन टोली समेत सक्रिय रहेको जानकारी दिए।
दसैँका लागि बाहिरिनेहरूको भीड बढेसँगै उपत्यकामा फर्किनेहरूको संख्या पनि कम छैन। ट्राफिक प्रहरीले दिएको तथ्यांकअनुसार सोही अवधिमा ७२ हजारभन्दा बढी सवारीमार्फत दुई लाख ८५ हजारभन्दा बढी मानिस उपत्यका भित्रिएका छन्।