|?????????????????????????????????????????????????????????
काठमाडौं, जेठ २७ – चालु आर्थिक वर्षको वैशाख महिनामा मात्रै १ खर्ब ६५ अर्ब ३० करोड रुपैयाँ बराबरको रेमिट्यान्स (विप्रेषण) नेपाल भित्रिएको छ।
नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार यो अहिलेसम्मकै एक महिनामा भित्रिएको सबैभन्दा ठूलो विप्रेषण रकम हो।
यसअघि २०८१ सालको फागुन महिनामा १ खर्ब ५१ अर्ब २० करोड रुपैयाँ विप्रेषण भित्रिएको थियो, जुन अहिलेसम्मको सबैभन्दा धेरै रेमिट्यान्सको कीर्तिमान मानिन्थ्यो। तर, वैशाख महिनाको तथ्यांकले यो कीर्तिमान तोडेको छ।
राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिनामा कुल १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ विप्रेषण भित्रिएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.३ प्रतिशतले बढी हो। अघिल्लो वर्ष सो अवधिमा १६.९ प्रतिशतले वृद्धि भएको थियो।
गत वर्षको वैशाखमा १ खर्ब १५ अर्ब ९९ करोड रुपैयाँ विप्रेषण भित्रिएको थियो। यो वर्ष अमेरिकी डलरमा हेर्दा विप्रेषण १०.५ प्रतिशतले वृद्धि भई ९ अर्ब ९६ करोड डलर पुगेको छ, जुन अघिल्लो वर्षको १४.८ प्रतिशत वृद्धिदरभन्दा केही कम हो।
देशको अर्थतन्त्रमा विप्रेषणको महत्त्वपूर्ण भूमिका रहेको यस तथ्यांकले पुनः पुष्टि गरेको छ।