नवलपरासी, भदौ २० – भारतीय केरा आयात बढेपछि नवलपरासीका व्यावसायिक किसानले उब्जाएका हजारौँ टन केरा खेतमै कुहिन थालेका छन्।
सुस्ता र प्रतापपुरका किसानहरूले चाडपर्वअघि लाखौँ रुपैयाँ आम्दानी गर्ने आश गरेका थिए तर अहिले बिक्री नहुँदा ऋण तिर्ने समस्या परेको गुनासो गरेका छन्। गत वर्ष ४० लाख रुपैयाँको केरा बेचेका किसान मोतीलाल कोइरीले यसपटक जम्मा ३ लाखको मात्रै बिक्री भएको बताए।
जिल्लामा १ हजार ८२५ बिघामा करिब ४ हजार किसानले व्यावसायिक खेती गरिरहेका छन्। उत्पादन १० प्रतिशत बढे पनि खपत २० प्रतिशतमै सीमित भएको नवलपरासी केरा उत्पादक संघका अध्यक्ष लख्खु यादवले जानकारी दिए।
किसानहरूले भदौदेखि मंसिरसम्म भारतीय केरा आयात रोक्न माग गर्दै चेतावनी दिएका छन्। माग बेवास्ता भए आन्दोलनमा जाने उनीहरूको तयारी छ।