रुपन्देही-२ : निकोलस भूसालले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी घोषणा


रुपन्देही-२ : निकोलस भूसालले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी घोषणा
  • नवकिरण
  • मंसिर २०, २०८२

बुटवल, मंसिर २० – निकोलस भनेर चिनिने कमल भूसालले आउँदो फागुन २१ गते निर्धारित प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने घोषणा गरेका छन्। शनिबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले आफ्नो उम्मेदवारी औपचारिक रूपमा सार्वजनिक गरेका हुन्।

भूसालले यसअघि २०७९ सालमा पनि यही क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका थिए। तर छात्रवृत्तिमा चिकित्सा अध्ययन गर्दा सरकारी कोष प्रयोगको विषयमा परेको उजुरीका कारण त्यसबेला उनको उम्मेदवारी खारेज भएको थियो।

जेनजी आन्दोलनपछि बनेको अंतरिम सरकारले निर्वाचन मिति घोषणा गरेपछि क्षेत्र नम्बर २ बाट उम्मेदवारी घोषणा गर्ने उनी पहिलो नेता बनेका छन्।

यो क्षेत्र परम्परागत रूपमा एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलको बलियो गढ मानिन्छ। यद्यपि, गत चुनावमा पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेललाई करिब १५ सय मतले मात्र हराएका थिए।

भूसालले पत्रकार सम्मेलनमा आफ्नो टिमले रुपन्देही मात्र नभई देशका अन्य क्षेत्रमा पनि उम्मेदवार तयारी गरिरहेको बताएका छन्। साथै, चुनावी दौडमा रास्वपा सभापति रवि लामिछाने, उज्यालो नेपाल पार्टीका नेता तथा ऊर्जामन्त्री कुलमान घिसिङ, र श्रम संस्कृति पार्टीका सभापति हर्क साम्पाङसँगसमेत सहकार्य गर्ने प्रयास भइरहेको जानकारी उनले दिएका छन्।