निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा समूहको रिट सर्वोच्चमा दर्ता, माघ ६ गते सुनुवाइ


निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा समूहको रिट सर्वोच्चमा दर्ता, माघ ६ गते सुनुवाइ
  • नवकिरण
  • माघ ४, २०८२

काठमाडौं, माघ ४ – निर्वाचन आयोगले गरेको निर्णयविरुद्ध नेपाली कांग्रेसको संस्थापन पक्ष (देउवा समूह) ले दायर गरेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ। उक्त रिटको पेशी माघ ६ गतेका लागि तोकिएको छ।

निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिएको निर्णयप्रति असहमति जनाउँदै देउवा पक्ष सर्वोच्च अदालत पुगेको हो। रिट दायर गर्न नेता पूर्णबहादुर खड्का, प्रकाशमान सिंह र विमलेन्द्र निधिलगायत नेताहरू सर्वोच्च पुगेका थिए। तर, शेखर कोइराला समूहका नेताहरू भने रिट प्रक्रियामा सहभागी भएका छैनन्।

माघ २ गते निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापालाई कांग्रेसको आधिकारिक नेतृत्व मान्दै पार्टीको चुनाव चिह्न रुख र चारतारे झण्डा प्रदान गरेको थियो। उक्त निर्णय संविधान, प्रचलित कानुन तथा नेपाली कांग्रेसको विधानविपरीत रहेको दाबी गर्दै देउवा समूहले निर्णय बदरको माग गरेको छ।

अब सर्वोच्च अदालतको निर्णयले कांग्रेसको आन्तरिक विवाद कुन दिशामा जाने भन्ने विषय थप स्पष्ट हुने अपेक्षा गरिएको छ।