काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता प्रणयशम्शेर राणाले पार्टी परित्याग गरेका छन्। बिहीबार औपचारिक रूपमा राजीनामा दिँदै उनले आफू अब पार्टीको जिम्मेवारीमा नरहने घोषणा गरेका हुन्।
राणाले पार्टीभित्र आन्तरिक लोकतन्त्र, पारदर्शिता र सुशासनको अभ्यास कमजोर भएको टिप्पणी गरेका छन्। आफूले यी विषयमा निरन्तर रूपमा नेतृत्वसँग छलफल र दबाब दिँदै आए पनि अपेक्षित सुधार नभएको उनको भनाइ छ।
विशेषगरी पार्टीको प्राइमरी निर्वाचन प्रक्रियामा आर्थिक अनियमितता भएको आशंका व्यक्त गर्दै उनले त्यसबारे निष्पक्ष छानबिन हुनुपर्ने मागसमेत गरेका छन्। तर, यस विषयमा गम्भीर चासो नदिइएको महसुस भएपछि राजीनामा दिने निष्कर्षमा पुगेको उनले उल्लेख गरेका छन्।
राजीनामापत्रमार्फत उनले देश–विदेशमा रहेका समर्थक र शुभेच्छुकप्रति धन्यवाद व्यक्त गर्दै आफ्नो निर्णयले पर्न सक्ने प्रभावप्रति क्षमायाचना गरेका छन्।
