काठमाडौं, भदौ १७ – उत्तर कोरियाली नेता किम जोङ उन चीनमा हुने भव्य ‘विजय दिवस’ सैन्य परेडमा सहभागी हुन बख्तरबन्द रेलमार्गमार्फत चीन पुगेका छन्। उनले मंगलबार बिहान प्योङयाङबाट प्रस्थान गरेको रेलमार्ग हुँदै चीन प्रवेश गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन्।
बुधबार बेइजिङमा आयोजना हुने परेडमा किम जोङ उन चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसहित अन्य राष्ट्रका प्रमुखहरूसँगै देखिने कार्यक्रम रहेको छ। नेपालका प्रधानमन्त्री केपी शर्मा ओली पनि सो समारोहमा सहभागी हुने तय भएको छ।
किम जोङ उन सन् २०११ मा सत्तामा आएयता विदेश भ्रमणका लागि प्रायः बख्तरबन्द रेल प्रयोग गर्दै आएका छन्। उनका बुवा किम जोङ इल र हजुरबुवा किम इल सुङले पनि सुरक्षालाई ध्यानमा राख्दै रेलमार्गलाई प्राथमिकता दिने गर्थे। चीन, रुस र भियतनाम भ्रमणका बेला उनले यही रेल प्रयोग गरेका थिए।
बुलेटप्रुफ रेललाई उत्तर कोरियामा सर्वाधिक सुरक्षित यातायात साधन मानिन्छ। करिब १० देखि १५ डब्बा रहने रेलमा सुरक्षा टोली, सञ्चार सुविधा, बैठक कक्ष, विश्राम गर्ने स्थान र खाद्यान्न भण्डार समेत हुन्छ। यहाँसम्म कि दुईवटा बख्तरबन्द मर्सिडिज गाडी अट्ने विशेष डब्बा पनि रहेको बताइन्छ।
रुस यात्रा गर्दा रेललाई त्यहाँको फरक रेल गेजअनुसार मिलाउनुपर्ने भए पनि चीनमा यस्तो आवश्यकता नपर्ने विज्ञहरू बताउँछन्। चीन प्रवेश गरेपछि त्यहाँका प्राविधिकले रेल तानेर गन्तव्यसम्म पुर्याउने गर्छन्।
चिनियाँ सहायक विदेशमन्त्री होङ लेईका अनुसार सेप्टेम्बर ३ मा आयोजना हुने यस सैन्य परेडमार्फत जापानी आक्रमणविरुद्धको जनयुद्ध तथा विश्व फासिवादविरोधी युद्धमा प्राप्त विजयको ८० वर्ष पूरा भएको स्मरण गरिनेछ। यस अवसरमा विभिन्न राष्ट्रका प्रमुख, उच्च तहका प्रतिनिधि तथा अन्तर्राष्ट्रिय संस्थाका नेताहरूलाई समेत सहभागी हुन निमन्त्रण गरिएको छ।