अमेरिकाको भर्जिनियामा एकै परिवारका ४ नेपाली मृत फेला


अमेरिकाको भर्जिनियामा एकै परिवारका ४ नेपाली मृत फेला
  • नवकिरण
  • जेष्ठ २४, २०८२

भर्जिनिया, जेठ २४ – अमेरिकाको भर्जिनियास्थित मनासस पार्कमा एकै परिवारका चार नेपाली घरभित्रै मृत अवस्थामा फेला परेका छन्। मृतकहरूमा ३८ वर्षीय सन्तोष परियार, उनकी ३६ वर्षीया पत्नी अञ्जु श्रेष्ठ, ८ वर्षीया छोरी र २ वर्षीय छोरा रहेका छन्।

घटना बिहीबार राति करिब १०:४५ बजे (स्थानीय समयअनुसार) भएको हो। तल्लो तलामा बस्दै आएका ती परिवारसँग सम्पर्क हुन नसकेपछि घरधनीले प्रहरीलाई जानकारी गराएका थिए। प्रहरी घटनास्थलमा पुग्दा चारै जनाको शव गोली लागेर मृत्यु भएको अवस्थामा फेला परेको थियो। प्रहरीले घटनास्थलबाट एक थान बन्दुक पनि बरामद गरेको छ।

मनासस पार्क प्रहरीले प्रारम्भिक अनुसन्धानको आधारमा यो घटना हत्या-पछिको आत्महत्या हुन सक्ने अनुमान गरेको छ। तर, गोली कसले चलायो भन्ने विषयमा भने अहिलेसम्म औपचारिक जानकारी सार्वजनिक गरिएको छैन।

छिमेकीहरूका अनुसार मृतक परिवार करिब ६ महिनाअघि मात्र उक्त घरमा भाडामा सरेका थिए। उनीहरू नेपाली मूलका हुन् र घरको तल्लो तलामा बस्दै आएका थिए।

प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।