ओली–मोदी भेट : संयोग कि नियोजित साइत?


ओली–मोदी भेट : संयोग कि नियोजित साइत?
  • नवकिरण
  • भाद्र २, २०८२

काठमाडौँ, भदौ २ – प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणबारे लामो समयदेखि चलिरहेको अड्कलबाजी अन्ततः स्पष्ट हुँदै गएको छ।

दुवै देशका आधिकारिक निकायले मिति सार्वजनिक नगरे पनि नेपाली र भारतीय सञ्चारमाध्यमहरूले भदौ ३१ र असोज १ गते (सेप्टेम्बर १६–१७) भ्रमण हुने लगभग पक्का बताएका छन्।

सो मितिमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिन (सेप्टेम्बर १७) पनि पर्छ। सार्वजनिक सूचनाअनुसार सोही दिन मोदी र ओलीबीच बोधगयामा भेटवार्ता हुने तय भएको बताइन्छ। यही कारण भ्रमण संयोग मात्रै हो वा विशेष साइत मिलाइएको हो भन्ने प्रश्न स्वाभाविक रूपमा उठेको छ।

प्रधानमन्त्री बनेको १३ महिनापछि ओलीले भारतबाट औपचारिक निमन्त्रण प्राप्त गरेका हुन्। आइतबार नेपाल आएका भारतका विदेश सचिव विक्रम मिस्रीले ओलीलाई औपचारिक निमन्त्रणा बुझाएका थिए।

विपक्षी दलले लामो समयदेखि ओलीले भारत भ्रमण गर्न ढिलाइ गरेको भन्दै आलोचना गर्दै आएका थिए। कतिपयले त यसलाई नेपाल–भारत सम्बन्ध बिग्रँदै गएको संकेतका रूपमा समेत व्याख्या गरेका थिए। तर अब भ्रमणको सम्भावित तालिका बाहिर आएपछि दुई मुलुकबीच उच्चस्तरीय भेटघाट हुने लगभग निश्चित भएको छ।

यसरी, मोदीकै जन्मदिन पारेर हुने भेटलाई कतिपयले ‘खालि संयोग’ ठानिरहेका छन् भने कतिपयले यसलाई ‘साइतमै मेल खाएको’ रूपमा हेरिरहेका छन्।