यूएईमा नयाँ भिजिट भिसा नियम लागू, स्पोन्सरको तलब न्यूनतम ४ हजार दिराम हुनुपर्ने


यूएईमा नयाँ भिजिट भिसा नियम लागू, स्पोन्सरको तलब न्यूनतम ४ हजार दिराम हुनुपर्ने
  • नवकिरण
  • आश्विन २०, २०८२

काठमाडौं, असोज २० – संयुक्त अरब इमिरेट्स (यूएई) ले भिजिट भिसासम्बन्धी नयाँ नियम लागू गरेको छ, जसअनुसार अब परिवार वा साथीलाई यूएई बोलाउन चाहने व्यक्तिको निश्चित तलब स्तर पुरा भएको हुनुपर्नेछ।

यूएईको फेडेरल अथोरिटी फर आइडेन्टिटी, सिटिजनसिप, कस्टम्स एन्ड पोर्ट सेक्युरिटी (आईसीपी) का अनुसार भिजिट भिसा स्पोन्सर गर्ने व्यक्तिहरूलाई चार वर्गमा विभाजन गरिएको छ — नजिकका परिवार, विस्तारित परिवार र साथी (नन–रिलेटिभ) गरी।

पहिलो वर्गमा बुबा–आमा, श्रीमान–श्रीमती र छोराछोरी पर्छन्। यिनीहरूलाई भिजिट भिसामा ल्याउनका लागि स्पोन्सरको मासिक तलब कम्तीमा ४ हजार यूएई दिराम हुनुपर्नेछ।

दोस्रो वर्गमा दाजुभाइ, दिदीबहिनी, हजुरबा–हजुरआमा तथा नाति–नातिनी पर्छन्। यिनीहरूका लागि स्पोन्सरको मासिक तलब कम्तीमा ८ हजार दिराम हुनुपर्नेछ।

तेस्रो वर्गमा काका–काकी, मामा–फुपु तथा कजिन पर्ने छन्, जसका लागि पनि ८ हजार दिराम तलब आवश्यक छ।

तर, साथी (नन–रिलेटिभ) लाई स्पोन्सर गर्न चाहने व्यक्तिको तलब कम्तीमा १५ हजार दिराम हुनुपर्ने प्रावधान गरिएको छ।

आईसीपीका अनुसार नयाँ नीति आर्थिक पारदर्शिता कायम गर्ने, विदेशी आगन्तुकहरूको व्यवस्थापन सहज बनाउने र योग्य प्रतिभालाई आकर्षित गर्ने उद्देश्यले ल्याइएको हो। अब भिसा आवेदनका क्रममा नाता प्रमाणपत्र, कम्तीमा ६ महिनाको वैध राहदानी र फर्कने टिकट अनिवार्य हुनेछ।

त्यस्तै, यूएईले चार नयाँ भ्रमण भिसा वर्ग पनि तोकेको छ — कृत्रिम बुद्धिमत्ता (AI), मनोरञ्जन, कार्यक्रम तथा क्रुज पर्यटनसँग सम्बन्धित भिसा।

नयाँ व्यवस्थाअनुसार मानवीय कारणमा एक वर्षका लागि बसोबास अनुमति पत्र पनि दिइनेछ, जसलाई विशेष सर्तमा थप अवधि बढाउन सकिनेछ। यसले विशेष गरी विधवा वा सम्बन्ध विच्छेद भएकी महिलालाई बिना स्पोन्सर यूएईमा बसोबास गर्ने अवसर दिनेछ।