झापाको दमकमा १ अर्ब १८ करोड लागतमा औद्योगिक पार्कका लागि रतुवा खोला र बगरको जमिन खरिद


झापाको दमकमा १ अर्ब १८ करोड लागतमा औद्योगिक पार्कका लागि रतुवा खोला र बगरको जमिन खरिद
  • नवकिरण
  • जेष्ठ १६, २०८२

झापा, जेठ १६ – झापाको दमकमा निर्माणाधीन नेपाल-चीन मैत्री औद्योगिक पार्कका लागि सरकारले रतुवा खोला र त्यसको बगर क्षेत्रको जमिन खरिद गरेको छ। पार्क निर्माणको लागि २०७३ सालदेखि प्रक्रिया सुरु भए पनि हालसम्म निर्माण कार्य खासै अगाडि बढ्न सकेको छैन।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अनुसार हालसम्म सरकारले ५६० बिघा ५ कट्ठा १६ धुर जमिन खरिद गरिसकेको छ। रतुवा खोलाको दायाँबायाँको बगर र खेतीयोग्य जमिनसमेत समेटिएको यस पार्क निर्माणका लागि सरकारको कुल खर्च १ अर्ब १८ करोड ४५ लाख रुपैयाँभन्दा बढी भइसकेको छ।

हालसम्म २ हजार १०० बिघा क्षेत्रफलमा पार्क बनाउने योजना सार्वजनिक गरिएको भए पनि पहिलो चरणमा ९४२ बिघामा निर्माण सुरु गरिने तयारी भइरहेको छ। बाँकी २१९ बिघा जमिन अधिग्रहणका लागि थप २३ करोड ९१ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा सुरु भएको यस परियोजनाको शिलान्यास २०७७ फागुन १६ मा दमकमा गरिएको थियो। ओलीकै घर नजिकको क्षेत्रमा पर्ने यो पार्क निर्माणको नाममा हालसम्म जग्गा अधिग्रहण, मुआब्जा वितरण र प्रशासनिक प्रक्रिया मात्र अघि बढेको छ।

यता स्थानीय बासिन्दा भने खोलाको बगरमा निर्माण गरिने पार्कप्रति सशंकित छन्। खोलाको बहाव क्षेत्रमै पर्ने भएकाले संभावित बाढीको जोखिमले चिन्ता थपिएको छ। सिंहबहादुर देवान नामका स्थानीयवासी भन्छन्, “पार्क बनेर फाइदा हुने हो कि खोलाले फेरि घर डुबाउने हो, थाहा छैन।”

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अनुसार पार्क निर्माणका लागि अधिग्रहण गरिएको केही जमिन खोलाको धारमै पर्छ। हालसम्म अधिग्रहित ६० बिघा जमिनमध्येको केही भागमा त खोलै बगिरहेको तथ्य बाहिर आएको छ।

सरकारले दुई चरणमा मुआब्जा मूल्यांकन गर्दा दर पनि परिवर्तन गरिएको थियो। पहिलो चरणमा काँसघारी जमिन प्रति बिघा ११ लाख ४० हजार, बगर ३ लाख ८० हजार निर्धारण गरिए पनि दोस्रो चरणमा बगरको मूल्य घटाएर २ लाख बनाइएको थियो।

उद्योग मन्त्रालयको योजना अनुसार दमकमा यो पार्क चीनसहित अन्य देशका उद्योगहरू भित्र्याउने उद्देश्यसाथ निर्माण हुँदैछ। अनुमानित लगानी ५४८ मिलियन अमेरिकी डलर (करीब ७६ अर्ब रुपैयाँ) रहनेछ। हालसम्म ६४ अर्ब लगानी स्वीकृत भइसकेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ।

यसैबीच, दमक नगरपालिका–३ मा निर्माण गरिएको १८ तले दमक बिजनेस कम्प्लेक्स भने सम्पन्न भइसकेको छ। १ अर्ब ५६ करोडको लागतमा बनेको यो कम्प्लेक्सलाई औद्योगिक पार्कको कर्पोरेट कार्यालय बनाउने उद्देश्य थियो। तर पार्क निर्माणमै ढिलाइ भइरहेकाले टावरको उपयोगबारे अन्योल कायम छ।

औद्योगिक पार्कको पहिलो चरण निर्माण बूट मोडलमा अगाडि बढाइने तयारी गरिएको छ। यो मोडल अनुसार निजी क्षेत्रले संरचना निर्माण र सञ्चालन गर्ने, र ३० वर्षपछि सरकारलाई हस्तान्तरण गर्ने व्यवस्था हुनेछ।

अहिलेसम्म झापामा मात्र धमाधम काम भइरहे पनि अन्य स्थानमा भने स्थानीय विवादका कारण योजना अड्किएको छ।