काठमाडौं, फागुन १ – निर्वाचन आयोगले कर्णाली प्रदेशका १० जिल्लाअन्तर्गत १२ निर्वाचन क्षेत्रमा मतपत्र पठाएको जनाएको छ। आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेका अनुसार सल्यान, रुकुम पश्चिम, डोल्पा, मुगु, हुम्ला, कालीकोट, जुम्ला, जाजरकोट, दैलेख र सुर्खेतका निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी गरिसकिएको हो।
आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न गरेको जानकारी दिएको छ। हालसम्म एक करोड ५७ लाख ७८ हजार मतपत्र छपाइ भइसकेको छ।
डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम पश्चिम, सल्यान, सुर्खेतसहित बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम र भोजपुरको मतपत्र छपाइ सकिएको छ। त्यसैगरी ओखलढुंगा, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ, गुल्मी, झापा, गोरखा, म्याग्दी, पर्वत, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), मोरङ, उदयपुर, मुस्ताङ, लमजुङ, तनहुँ, स्याङ्जा, बर्दिया, रुकुम पूर्व, दाङ र बाँकेको पनि छपाइ कार्य पूरा भइसकेको आयोगले जनाएको छ।
यसैगरी नवलपरासी (बर्दघाट सुस्ता पूर्व), पाल्पा, अर्घाखाँची, प्यूठान, रुपन्देही, रोल्पा, मनाङ, रामेछाप, सिन्धुली, रसुवा र सिन्धुपाल्चोकसहित ५८ जिल्लाको मतपत्र छपाइ सम्पन्न भई प्याकिङसमेत गरिसकिएको सहायक प्रवक्ता न्यौपानेले जानकारी दिए।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा गत पुस २२ गतेदेखि समानुपातिक तथा प्रत्यक्ष दुवै निर्वाचन प्रणालीका लागि मतपत्र छपाइ सुरु गरिएको थियो। पहिलो चरणमा १० लाख ९८ हजार २०० नमुना मतपत्र छपाइ गरी सम्बन्धित जिल्लामा पठाइसकिएको आयोगले जनाएको छ।
समानुपातिक प्रणालीतर्फ गत पुस २६ गतेदेखि छपाइ सुरु भई माघ १३ गतेसम्म दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न भइसकेको छ। त्यस्तै प्रत्यक्षतर्फ दुई करोड तीन लाख २३ हजार मतपत्र छाप्नुपर्ने लक्ष्यअनुसार माघ १६ गते बिहानदेखि छपाइ कार्य अघि बढाइएको आयोगले जनाएको छ।
