ललितपुर, जेठ ११ – नेकपा एमालेबाट निर्वाचित बागमती प्रदेशका ३५९ जना वडाध्यक्षहरुको भेला आज ललितपुरको गोदावरीस्थित होटल भ्यू भृकुटीमा हुँदैछ।
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे उक्त भेलाको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार ओलीले भेलालाई सम्बोधन पनि गर्नेछन्।
भेलाको आयोजना एमाले बागमती प्रदेश कमिटीले गरेको हो। बागमती प्रदेश इन्चार्ज डा. राजन भट्टराईका अनुसार, वडाध्यक्षहरुसँग प्रत्यक्ष संवाद गरी जनताको अपेक्षा बुझ्ने, पार्टीको संगठन विस्तार गर्ने र आगामी नीति तथा कार्यक्रम तय गर्न यो भेला आयोजना गरिएको हो।
एमाले प्रदेश कमिटीका अनुसार, बागमतीका १० वटै जिल्लाबाट निर्वाचित वडाध्यक्षहरू सहभागी हुनेछन्।भेला भोलि सोमबारसम्म सञ्चालन हुनेछ।