काठमाडौँ, जेठ १२ – नेकपा एमाले जनसंगठनका पदाधिकारीहरूको बैठक सोमबारदेखि च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ। बैठकमा आगामी जेठ १५ गतेको जनप्रदर्शनको तयारी र राजावादी आन्दोलनको प्रतिवाद गर्ने रणनीतिबारे विशेष छलफल भएको छ।
बैठकमा एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, सचिवहरू योगेश भट्टराई, लेखराज भट्ट, पद्मा अर्याल, गोकर्ण विष्टलगायतका नेताहरूको उपस्थिति रहेको छ।
यसअघि आइतबार बसेको एमाले सचिवालय बैठकले गणतन्त्र दिवसको अवसरमा जेठ १५ गते विशेष उत्सव मनाउने र राजावादी आन्दोलनको प्रतिवाद गर्ने निर्णय गरिसकेको थियो। पार्टीले जनसमुदायलाई सक्रिय सहभागिता जनाउन आह्वान समेत गरेको छ।
२०६५ सालको जेठ १५ गते पहिलो संविधानसभाले नेपाललाई गणतन्त्र घोषणा गरेको ऐतिहासिक दिन हो। तर सोही दिन राजावादी पक्षले पनि राजसंस्था पुनर्स्थापनाको माग गर्दै आन्दोलन गर्ने घोषणा गरिसकेका छन्। उनीहरूले नवराज सुवेदी नेतृत्वमा ‘संयुक्त जनआन्दोलन समिति’ गठन गरी तयारी तीव्र बनाएका छन्।
उक्त आन्दोलनमा राप्रपा, राप्रपा नेपाललगायतका राजावादी तथा पुनरुत्थानवादी शक्तिहरूको समर्थन रहेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले राजावादी आन्दोलन निष्क्रिय पार्ने रणनीति बनाउने निर्देशन दिइसकेका छन्। च्यासलमा जारी बैठकबाट त्यसकै कार्यान्वयनका लागि योजनाहरू तय गरिने जनाइएको छ।