काठमाडौं, जेठ १४ – राजसंस्थाको पुनर्स्थापनाको बहस तीव्र भइरहेका बेला विश्व हिन्दु महासंघ नेपालले हाल चर्चामा रहेका पात्रहरूमा राजा बन्ने आवश्यक गुण र गरिमा नभएको स्पष्ट पारेको छ।
राप्रपा र राप्रपा नेपालले जेठ १५ गते काठमाडौंमा आयोजना गर्न लागेको प्रदर्शन तथा पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्रलाई भावी राजा बनाउन सकिने भन्ने अभिव्यक्तिपछि महासंघले विज्ञप्ति जारी गर्दै आफ्नो धारणा सार्वजनिक गरेको हो।
महासंघका अध्यक्ष डा. रामचन्द्र अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “हिन्दु राष्ट्रमा राजा निषेधित हुँदैन। जनचाहना भएमा स्वच्छ, निष्पक्ष र लोकप्रिय जोकोही व्यक्ति राजा बन्न सक्छ। तर हाल चर्चामा रहेका पात्रहरूमा त्यो गुण र गरिमा पाइँदैन।”
डा. अधिकारीले राजा र धर्मलाई छुट्टाछुट्टै विषय ठहर गर्दै राजा परिवर्तनशील राजनीतिक संरचना भए पनि धर्म जनताको आस्था र श्रद्धासँग जोडिएको स्थायी मूल्य भएको उल्लेख गरेका छन्।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले मंगलबार काठमाडौंमा आयोजित सम्पादकहरूसँगको छलफलमा राष्ट्रिय सहमति भए हृदयेन्द्र शाहलाई राजा बनाउन सकिने अभिव्यक्ति दिएपछि दशकौं पुरानो ‘बेबी किङ’ को बहस पुनः चर्चामा आएको छ।
ज्ञानेन्द्र शाहलाई उमेरको कारणले विकल्प खोज्नुपर्ने भन्दै उनले भनेका थिए, “राष्ट्रिय सहमति भए हृदयेन्द्रलाई राजा बनाउन सकिन्छ। उहाँ २०/२१ वर्षको हुनुहुन्छ।”
गणतन्त्र स्थापनाअघि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको कार्यकालमा नेपाली सेनाले विद्रोह गर्न सक्ने अनुमान गर्दै ज्ञानेन्द्र शाहको सन्तानलाई राजा बनाउने प्रस्ताव चलेको थियो।
पूर्वपरराष्ट्र सल्लाहकार डा. सुरेश चालिसेका अनुसार सेनापति रुक्माङ्गत कटुवालले नै ‘बेबी किङ’को प्रस्ताव अघि सारेका थिए, तर ज्ञानेन्द्र शाहले अस्वीकार गरेका थिए। त्यस्तै, माधव नेपालले पनि आफूले उक्त प्रस्ताव अस्वीकार गरेको बताएका छन्।
डा. अधिकारीले राजावादी आन्दोलनमा व्यक्तिगत सहभागिता रोक्ने पक्षमा नभएको भन्दै भनेका छन्, “व्यक्तिगत स्वतन्त्रताको हनन् नहुने गरी जो कोही आन्दोलनमा जान सक्छ, तर जोखिमको भागीदार पनि उनीहरू स्वयं हुनुपर्छ।”
उनले घोर दक्षिणपन्थी वा उग्रवामपन्थी धार नलिने भन्दै मध्यमार्गी लोकतान्त्रिक मूलधार र धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन हिन्दु राष्ट्रलाई लक्ष्य बनाउने धारणा पनि दोहोर्याएका छन्।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपाल अध्यक्ष कमल थापाले जेठ ६ गते सार्वजनिक कार्यक्रममा जनताको शान्तिपूर्ण आन्दोलनमार्फत राजसंस्था र हिन्दु राज्य पुनर्स्थापना गर्ने अठोट दोहोर्याएका थिए।
तर विश्व हिन्दु महासंघले यसबारे चेतावनी दिँदै राष्ट्रको नेतृत्व गर्न सक्ने पात्रमा गुण, गरिमा र जनविश्वास हुनुपर्ने शर्तलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याएको छ।