राजावादी आन्दोलन सुस्तायो, नयाँ कार्यक्रमबारे अन्यौल


राजावादी आन्दोलन सुस्तायो, नयाँ कार्यक्रमबारे अन्यौल
  • नवकिरण
  • जेष्ठ १९, २०८२

काठमाडौं , जेठ १९ – राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाको माग गर्दै भइरहेको राजावादी आन्दोलन अहिले केही सुस्ताएको देखिएको छ।

संयुक्त जनआन्दोलन समितिले आइतबारको प्रहरी दमनको विरोधमा आह्वान गरेको बन्द फिर्ता लिएपछि आजका लागि कुनै नयाँ कार्यक्रम सार्वजनिक गरिएको छैन।

जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी नेतृत्वको समूह अहिले भित्री छलफलमा व्यस्त रहेको जनाइएको छ। समितिका एक नेताका अनुसार, “हामी कार्यक्रमबारे छलफलमै छौं,” भन्दै तत्काल कुनै ठोस निर्णय नभएको जानकारी दिएका छन्।

आइतबारको प्रदर्शनका क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा नक्शाल–भाटभटेनी क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएका थिए। उक्त घटनापछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले ‘भोलिदेखि खास लडाइँ सुरु हुने’ घोषणा गरे पनि हालसम्म आन्दोलनको आगामी कार्यक्रमबारे स्पष्टता आएको छैन।

बन्द फिर्ताको निर्णयपछि आन्दोलन थप अन्यौलमा परेको छ। लिङ्देनले बन्द र हड्तालजस्ता अलोकप्रिय कार्यक्रमबाट टाढा बस्ने भन्दै आफ्ना कार्यकर्तालाई त्यस्ता गतिविधिमा सहभागी नहुन निर्देशन दिएका थिए। त्यसपछि संयोजक सुवेदीले सबै पक्राउ परेकालाई प्रहरीले छाडेको भन्दै बन्द फिर्ता लिएको घोषणा गरेका थिए।

आजका लागि भने आन्दोलन हुने वा नहुने बारे निश्चित जानकारी छैन। समितिका एक सदस्यले भने, “बन्द फिर्ता भएपछि समितिको निर्णय अन्यौलमा छ, आजको कार्यक्रमबारे केही निश्चित छैन।”

राजावादी आन्दोलनको भावी दिशा कता जाने हो भन्ने चासो बढ्दो छ, तर तत्कालका लागि आन्दोलन शान्त अवस्थामा पुगेको देखिन्छ।