बाढी–पहिरोले महेन्द्र राजमार्ग पूर्ण अवरुद्ध, ८ सडक एकतर्फी सञ्चालनमा


बाढी–पहिरोले महेन्द्र राजमार्ग पूर्ण अवरुद्ध, ८ सडक एकतर्फी सञ्चालनमा
  • नवकिरण
  • अषाढ ८, २०८२

काठमाडौं, असार ८ – लगातारको वर्षासँगै देशका विभिन्न भागमा आएको बाढी र पहिरोका कारण प्रमुख सडक मार्गहरू प्रभावित भएका छन्। नेपाल प्रहरीले आइतबार सामाजिक सञ्जालमार्फत विभिन्न सडकहरूको अवस्थाबारे विवरण सार्वजनिक गरेको छ।

प्रहरीका अनुसार नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–१ मा पर्ने महेन्द्र राजमार्ग पूर्णरूपमा अवरुद्ध बनेको छ। वर्षाका कारण आएको बाढीले राजमार्गका दुवै लेन अवरुद्ध बनाएको जानकारी दिइएको छ।

त्यस्तै, प्रहरीको रिपोर्टअनुसार हाल ८ वटा सडक एकतर्फी मात्र सञ्चालनमा रहेका छन्। अवरुद्ध वा आंशिक रुपमा प्रभावित सडकहरूको अवस्थाबारे समय–समयमा अपडेट दिइने पनि प्रहरीको भनाइ छ।

प्रहरीले यात्रुहरूलाई यात्रा गर्नु अघि सम्बन्धित स्थानको अवस्था बुझी मात्र यात्रा योजना बनाउन अनुरोध गरेको छ। सडक सुरक्षाको विषयलाई गम्भीरतापूर्वक लिंदै प्रहरीको टोली आवश्यक स्थानहरूमा परिचालनमा रहेको बताइएको छ।